आईजीपी खापुङले भने– ‘मैले राजीनामाको चेतावनी दिएको छैन’

User Image मेयरसाप डेस्क | २०८२ असोज २४ गते २३:२६
Image of https://mayorsap.com/storage/photos/10/68e8d85c23056.jpg

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आफूले राजीनामा दिने चेतावनी दिएको भनी विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरूको खण्डन गरेका छन् ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै आईजीपी खापुङले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल सम्मिलित सुरक्षा बैठकमा यस्तो अभिव्यक्ति नदिएको प्रष्ट पारेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु’ भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”

प्रहरी प्रमुखले सुरक्षा बैठकमा समसामयिक घटनाक्रमबाट सृजित सुरक्षा चुनौतीहरूबारे विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भएर सौहार्दपूर्ण छलफल गरेको जानकारी विज्ञप्तिमा उल्लेख छ ।

आईजीपी खापुङले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ ।


Facebook Comments