गाजाका बन्दी मुक्त गर्न इजरायल जाँदै ट्रम्प, रिहा होलान् विपिन जोशी ?
मेयरसाप डेस्क
|
२०८२ असोज २७ गते १८:४३
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा ‘युद्ध समाप्त भएको’ बताएका छन्। गाजाबाट बन्धकहरूलाई मुक्त गर्नका लागि हालै भएको युद्धविराम सम्झौता औपचारिक रुपमा कार्यान्वयन गराउने समारोहमा सहभागी हुन उनी इजरायल प्रस्थान गर्ने क्रममा सो कुरा बताएका हुन् । एयर फोर्स वनमा सवार पत्रकारहरूसँग उनले युद्धविराम जारी रहने र गाजाका लागि शान्ति बोर्ड चाँडै स्थापना हुने बताए।
एयर फोर्स वन अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान हो । गाजामा हमासले नियन्त्रणमा लिएर राखेका सबै बन्धकहरूलाई मुक्त गर्ने अन्तिम समयसीमा स्थानीय समय अनुसार सोमबार दिउँसो १२ बजे तोकिएको छ ।
ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र युद्धविराममा मध्यस्थताको भूमिका खेलेको कतारको पनि प्रशंसा गरेका छन् । ट्रम्प सोमबार इजरायल पुगेपछि त्यहाँको संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यसपछि राष्ट्रपति ट्रम्पले इजिप्टको यात्रा गर्नेछन्, जहाँ उनले विभिन्न देशका नेताहरूसँग गाजाको अवस्थाबारे छलफल गर्नेछन् । उक्त समारोहमा २० भन्दा बढी देशका नेताहरू सहभागी हुनेछन्, जसमा बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मर र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास पनि रहनेछन् ।
यसैबीच गाजाका बन्धक रिहा गर्ने विषय नेपालीका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। नेपाली नागरिक विपिन जोशी पनि २ वर्षदेखि हमासको बन्धनमा छन्। कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनको अवस्था अज्ञात भनेका छन् भने कतिले उनलाई जीवित बन्धकको सूचीमा राखेका छन्।
Facebook Comments