सडकको हिउँ पन्छाएर पदयात्रीलाई सहजीकरण गर्दै सशस्त्र प्रहरी
मेयरसाप डेस्क
|
२०८२ कार्तिक ११ गते ०४:३५
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले मनाङ, मुस्ताङलगायत हिमाली जिल्लामा गएरातिदेखिको अवरुद्ध सडकका हिउँ पन्छाएर पदयात्रामा गएका यात्रुलाई सहजीकरण गरेको छ ।
मुस्ताङको लोमाङथाङ गाउँपालिका–५ नेचुङस्थित उपल्लो मुस्ताङमा हिउँ पन्छाउनुका साथै सो बाटो हुँदै पदयात्रा तथा भ्रमणमा जाने पर्यटकहरूलाई सुरक्षित यात्रा र सावधानी अपनाउन अनुरोध गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नेचुङको टोलीले यात्रुहरूको सहजताका लागि कोरोला नाका जाने बाटोमा परेको हिउँ पन्छाएको छ ।
कोरला नाकासम्म जाने बाटोमा हिउँ जमेर असहजता भएपछि हिउँ पन्छाइएको उनले जानकारी दिए । थप हिमपात भएमा सो क्षेत्रमा भ्रमणमा नआउन सशस्त्र प्रहरीले अनुरोध गरेको छ ।
त्यसैगरी मनाङको डिस्याङ गाउँपालिका–४ हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा परेको हिउँ समेत सशस्त्र प्रहरीले हटाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३२ गुल्म मनाङबाट खटिएको सुरक्षा फौजले यात्रुहरूलाई सावधानी अपनाउन र मौसम प्रतिकुलताबारे सचेत रहन अनुरोध गरेको छ ।
यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण पदमार्गमा गएका पदयात्रीको सहजीकरणको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेस नारच्याङ् म्याग्दीको टोली खटिएको सहप्रवक्ता थापाले जानकारी दिए। सो टोली पदयात्रीहरूको सहजता र सुरक्षाको लागि अन्नपूर्ण गाउँपालिका–४ हुमखोला भन्दा माथिसम्म पुगेको जनाइएको छ ।
Facebook Comments