यी तीन प्रदेशमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

अधिकांश नदीको बहाव बढ्ने

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक १३ गते २१:४२
Image of https://mayorsap.com/storage/photos/shares/badhi_1.jpg

काठमाडौं । बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभावले आज रातिदेखि नै उपत्यकासहित देशभर वर्षा भइरहेको छ। आगामी ३ दिन कोसी, मधेस र बागमती प्रदेशमा मध्य्यमदेखि भारी वर्षाको सम्भावना देखिएको भन्दै बाढी पूर्वानुमान महाशाखाले आज बिहान विशेष बाढी पूर्वानुमान बुलेटिन जारी गरेको छ।  

पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश र बागमती प्रदेशका अधिकांश नदीको बहाव बढ्नेछ।  महाशाखाले यी प्रदेशका नदी किनारका बासिन्दालाई सतर्क रहन अनुरोधसमेत गरेको छ।

महाशाखाका अनुसार बिहीबार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भएर बग्ने नदीमा बाढीको जोखिम रहेको छ। आकस्मिक रुपमा बाढी आउनसक्ने भन्दै महाशाखाले यात्रा गर्दासमेत सचेत हुन अनुरोध गरेको छ।

बागमती, मधेश र कोशी प्रदेशका सानाठुला जुनसुकै नदीमा आकस्मिक रुपमा बाढी आउने जोखिम रहेको जनाएको महाशाखाले सप्तकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी, सुनकोशी, कन्काई, कमला, बागमदी, राप्तीमा बाढीको जोखिम रहेको उल्लेख गरेको छ।  


Facebook Comments