राजनीतिक गतिविधिमा लागे शिक्षक र प्राध्यापकलाई बर्खास्त गरिने
शिक्षक संगठनहरूलाई पुनर्गठनको आह्वान
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २३ गते १८:३८
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूलाई पेसागत आचरण र कर्तव्यविपरीत राजनीतिक गतिविधिमा संलग्न नहुन कडा चेतावनी दिएका छन् ।
शैक्षिक गुणस्तर खस्किएको र पेसागत आचरण मिचिएको गुनासो बढेपछि मन्त्री पुनले राजनीतिक क्रियाकलापमा संलग्न हुनेलाई प्रचलित कानुनअनुसार पदबाट बर्खास्तसम्मको कारबाही हुने चेतावनी दिएका हुन् ।
आइतबार एक सूचना जारी गर्दै मन्त्री पुनले पेसागत ऐनहरूले हकहित र अधिकार प्राप्तिको सौदाबाजी बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार कसैलाई पनि नदिएको स्पष्ट पारेका छन् ।
‘राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछौं,’ मन्त्री पुनले भनेका छन् ।
मन्त्रालयले अबदेखि दलका भ्रातृ तथा शुभेच्छुक संगठनको रूपमा बनाइएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ–संगठनहरूलाई मान्यता नदिने निर्णय गरेको छ ।
शिक्षक–कर्मचारीको संवैधानिक हकको सम्मान गर्दै शिक्षक महासंघ लगायतका सबै क्रियाशील संघ–संगठनहरूलाई गैर राजनीतिक चरित्रको, स्वतन्त्र र व्यावसायिक प्रकृतिको बनाउनका लागि कानुनी प्रबन्धसहित पुनर्गठन गर्न मन्त्रालयले आह्वान गरेको छ ।

Facebook Comments