मेलम्चीको मुहान खुलाउन मन्त्रालय र बाढी पीडितबीच पुनः छलफल
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २४ गते १९:०१
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान बन्द गरिएपछि त्यसलाई खुलाउने विषयमा खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिबीच आज पुनः छलफल भएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासका अनुसार छलफल विगतमा भएका सहमतिहरू कार्यान्वयन गर्ने विषयमा केन्द्रित थियो ।
सङ्घर्ष समितिले काठमाडौंलाई पानी दिएबापत स्थानीय हेलम्बु गाउँपालिकालाई २५ प्रतिशत लाभांश दिने सहमति कार्यान्वयन गर्न माग गर्दै आएका छन् । यसै मागलाई लिएर स्थानीयले गत बिहीबार मेलम्चीको पानी पथान्तरण गरिएको क्षेत्र अम्बाथानको सुरुङमा एक्स्काभेटर प्रयोग गरी खोलातिर फर्काएका थिए ।
विगतमा भएका सम्झौताहरूमा स्थानीयको ऋण तथा विद्युत् महशुल मिनाहा गर्न पहल गर्ने, हेलम्बुमा प्राविधिक कलेज स्थापना गर्ने, बाढीले बगरमा परिणत भएको जग्गा मुआब्जा दिएर सङ्घीय सरकारले स्वामित्वमा लिने र वैकल्पिक सडक निर्माण गर्नेलगायतका बुँदाहरू समावेश थिए ।
आइतबार मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यको अध्यक्षतामा भएको छलफलमा आयोजनाका कार्यकारी निर्देशक दास, केयूकेएलका प्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए । सहमति कार्यान्वयन गरी तत्काल आयोजनाको मुहान खुलाउने विषयमा पहल जारी छ ।
Facebook Comments