प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले श्रीमतीलाई नियुक्ति दिलाएकोमा जेनजीको आपत्ति
जेनजी विद्रोहकै बलमा जागिर लगाउने काम गलत, तत्काल पदमुक्त गर्न माग
मेयरसाप डेस्क
|
२०८२ मंसिर ८ गते २३:२१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्नै श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएकोबारे जेनजी युवाहरूले आपत्ति जनाएका छन् ।
सोमबार नेपाल जेनजी फ्रन्टले एक विज्ञप्ति जारी गर्दै यस सम्बन्धमा प्रधानमन्त्री कार्यालयका तर्फबाट तत्काल स्पष्टीकरणसहित सत्यतथ्य जानकारी माग गरेको छ । उसले प्रधानमन्त्री समक्ष प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई पदमुक्त गर्न माग गरेको छ ।

यसैगरी जेनजी युवा नेता रक्षा बमले श्रेष्ठलाई पदमुक्त गर्न र उनले परिवारका सदस्य तथा नातेदारहरुलाई दिलाएको नियुक्ति खारेज गर्न माग गरेकी छन् । रक्षा बमले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आदर्श कुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्दै, नातावाद र कृपावादलाई प्रोत्साहन गरी उनले दिलाएका पारिवारिक नियुक्तिहरू तुरुन्तै खारेज गरियोस् । नागरिक सरकार सीमित व्यक्तिहरूको चंगुलमा फस्नु हुँदैन । सरकार बेलैमा सचेत होओस् ।’
उनले थप लेखेकी छन्, ‘भाद्र २३ मा हामीले सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा नारा लगाएका थियौं । तर नागरिक सरकारको प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिवले नातावाद र कृपावाद अंगालेर नैतिक भ्रष्टाचार गर्दै जसरी श्रीमतीसहित अन्य नातेदारलाई जेनजी विद्रोहकै बलमा जागिर लगाउने काम गरेका छन, त्यो सरासर गलत भएको छ ।’
यसैबीच प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्नै श्रीमतीसहित नातेदारलाई नियुक्ति गरेको खुलासा भएको छ । गत असोज २ गते प्रधानमन्त्रीको सचिवालयमा स्वकीय सहसचिव पदमा नियुक्त संगीता श्रेष्ठ आदर्शकै पत्नी रहेको खुलेको हो।
आदर्श स्वयंले पनि संगीता आफ्नी पत्नी भएको कुरा सार्वजनिक रूपमा स्वीकार गरेका छन्। त्यसो त त्यही दिन स्वकीय सहसचिव पदमै नियुक्त कमला श्रेष्ठ तथा प्रशासन सहायकद्वय पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि उनकै नातेदार भएको खुलेको छ।
Facebook Comments