सिरहामा बढ्दै लागुऔषध तस्करीः लहान क्षेत्र ‘ट्रान्जिट प्वाइन्ट’मा रूपान्तरण
१० क्वीन्टल गाँजासहित चालक र सहचालक पक्राउ
मुकेशकुमार यादव
|
२०८२ मंसिर ८ गते १९:४१
सिरहा। गत मङ्सिर ४ गते लागुऔषधसहित एक युवक पक्राउ परे। काकरभिट्टा–काठमाडौं रुटमा चल्ने यात्रुबाहक बसमा सवार एक युवा लागुऔषधसहित पक्राउ परेका हुन्। प्रहरीले कर्जन्हा नगरपालिका–३ स्थित बन्दीपुर चेकपोस्टमा नियमित चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बा.प्र. ०३–००१ ख २६५४ नम्बरको महादेव नामक बसमा सवार लहान नगरपालिका–१ मटेरबा टोलका २२ वर्षीय अमित यादवले बोकेको ब्यागबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको हो। चेकजाँचका क्रममा प्लास्टिकसहित तौल गर्दा २१.२९ ग्राम र प्लास्टिक हटाएपछि १५.६० ग्राम लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बरामद गरिएको पदार्थसहित यादवलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मिर्चैया, सिरहामा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
त्यसैगरी मङ्सिर ६ गते ट्रकबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद भएको छ। प्रहरीले गोप्य सूचनाको आधारमा लहान १ स्थित ट्राफिक चौकबाट ठूलो परिमाणमा गाँजा नियन्त्रणमा लिएको हो। बा.१ ख ३२०९ नम्बरको ट्रक चेकजाँच गर्दा एक हजार १०१ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले पश्चिमतर्फबाट पूर्व गइरहेको ट्रक रोक्ने क्रममा क्याबिन पछाडि विशेष रूपमा लुकाइ राखेको अवस्थामा ३१ बोरा गाँजा बरामद गरिएको बताए ।
घटनामा संलग्न दाङ २२ का सहचालक खेम राना र धनकुटा २४ छथर जोरपाटीका चालक टंक विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद लिइसकेको छ।
यी त मंसिरको एक साताभित्रका २ वटा उदाहरण मात्र हुन् । पछिल्लो समय प्रहरीकै मिलेमतोमा सिरहाका विभिन्न सिमानाका हुँदै भारतीय बजारमा लागुऔषध ओसारपसार हुने क्रम बढेको छ । सिरहासँग जोडिएका भारतीय बजार लौकहा, लदनिया, जयनगरलगायत क्षेत्र लागुऔषध ओसारपसारको मुख्य केन्द्रको रुपमा परिचित छन् ।
सिरहा जिल्लामा नेपाल प्रहरीका १२ वटा र सशस्त्र प्रहरीका ६ जना घुमुवा प्रहरी परिचालन गरिएको छ । स्रोतका अनुसार घुमुवा प्रहरीले तस्करहरुलाई रुट क्लियर गर्ने बापत मासिक रुपमा अतिरिक्त रकम बुझाउने गरेका छन्। नाकाबाट लागुऔषध ओसापसार हुँदा नै घुमुवा प्रहरीले नभेट्नु र पछि अन्य ठाउँमा चेकजाँच हुँदा भेटिनुले पनि नाका क्षेत्रमा तस्करका लागि प्रहरीले गरेको सहजिकरणलाई स्पष्ट बनाउँछ ।
सिरहामा खुला सीमा तथा प्रहरीकै कमजोर चेकजाँच र रात्रीकालीन सवारी आवागमनमा वृद्धि भएपछि तस्करहरूले भारतीय बजारबाट लागुऔषध ओसारपसार गर्ने क्रम बढेको स्थानीय समेत बताउँछन् ।
Facebook Comments