बाल शिक्षक र कर्मचारीलाई अपुग रकम थपेर तलब दिन स्थानीय सरकारलाई शिक्षामन्त्रीको आग्रह
मेयरसाप डेस्क
|
२०८२ मंसिर ९ गते १७:३०
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले स्थानीय सरकारलाई विद्यालयका कर्मचारी र बाल शिक्षकहरूलाई सरकारले तोकेको न्यूनतम् तलब दिन आग्रह गरेका छन् ।
मंगलबार फेसबुकमा स्टाटस राख्दै उनले शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षक, विद्यालय सहयोगी र विद्यालय सहायक कर्मचारीको लागि तलब संघीय अनुदानबाट पठाई सकेको भन्दै बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्यूनतम् पारिश्रमिक रकममा नघट्ने गरि स्थानीय सरकारले थप्नु पर्ने बताए ।
उनले लेखेका छन्, ‘शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकको लागि रु.१२०००, विद्यालय सहयोगीको लागि रु.१०,००० र विद्यालय सहायक कर्मचारीको लागि रू. १५००० तलब संघीय अनुदानबाट पठाई सकेको छ। बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्यूनतम् पारिश्रमिक रकममा नघट्ने गरि स्थानीय सरकारले थप्नु पर्ने हो। अहिले सम्म झण्डै ७०० वटा स्थानीय सरकारले थपेर न्यूनतम् पारिश्रमिक अनुसार तलब खुवाएको जानकारी मन्त्रालयलाई आएको छ।
यो विषय न्यूनतम् तलब नदिएका स्थानीय सरकारहरूको जिम्मेवारी भएको अवगत गराउँछु। बाल शिक्षकहरू र कर्मचारीहरूलाई अन्याय नगर्नु होला । यस विषयमा ट्रेड युनियनका नेताहरु खोई जागेको ?’ यस्तै, उनले अहिले सम्म झण्डै ७०० वटा स्थानीय सरकारले थपेर न्यूनतम् पारिश्रमिक अनुसार तलब दिएको जानकारी मन्त्रालयलाई आएको भन्दै न्यूनतम् तलब नदिएका स्थानीय सरकारहरूले पनि समयमा तलब दिनु पर्ने बताए ।
Facebook Comments