बाजुरामा स्याउ बगैँचा सुदृढीकरण तथा व्यवस्थापन अभियान सुरु
गुणस्तरीय स्याउ उत्पादन गरी उत्पादकत्व बढाउने उद्देश्य
गोविन्द तिमिल्सेना
|
२०८२ पुष १२ गते १२:४१
बाजुरा । बाजुरामा स्याउ बगैँचा सुदृढीकरण तथा व्यवस्थापन गर्न अभियान थालिएको छ। कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम अन्तर्गत बगैँचा सुदृढीकरणका लागि अभियानको थालनी गरिएको हो।
कृषकका बगैँचामा गएर बगैँचा व्यवस्थापन तथा त्यस सम्बन्धी तालिम दिन थालिएको छ। यहाँको ९ वटै स्थानीय तहमध्ये स्याउ तथा सुन्तला उत्पादन हुने बगैँचा क्षेत्रमा कृषकहरुलाई काँटछाँट र पेष्ट लगाउने तरिका बारे एक महिने अभियान सञ्चालन गरिएको हो।
स्याउ तथा सुन्तला बगैँचालाई थप व्यवस्थित र बढी उत्पादन हुने गरी बगैँचा सुदृढीकरण तथा व्यवस्थापन कार्य अघि सारिएको छ। बाजुराको बुढिनन्दा, हिमाली, स्वामिकार्तिक, जगन्नाथ, बडीमालिका, गौमुललगायत विभिन्न ठाउँका स्याउ तथा सुन्तला बगैँचामा कृषि प्राविधिक पुगेर व्यवस्थापन, सुदृढीकरण तथा तालिम दिनेछन्।
कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्राविधिक र कृषकहरुको संयुक्त उपस्थितिमा बगैँचा व्यवस्थापन गरिने छ। गुणस्तरीय स्याउ उत्पादन गरी उत्पादकत्व बढाउने उद्देश्यले स्याउको बगैँचा व्यवस्थापन अनिवार्य भएपछि यो कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहानीले बताए ।
यो अभियानले यहाँका स्याउ तथा सुन्तला खेती गरिरहेका कृषकहरुलाई बढी भन्दा बढी उत्पादनमा सहज हुने साहानीले जानकारी दिए । जलवायु परिवर्तनका कारण तापक्रम नघट्दा स्याउको हार्भेस्ट पछि छिटोछिटो पात झरेर बगैँचाका बोटहरू उजाड बनेका साहनी बताए।

उजाड बनेका स्याउका बोटहरुमा काँटछाँट तथा पेष्ट लगाउने कार्य सुरु भएको छ। समान्यतया यहाँ स्याउ बगैँचा व्यवस्थापन पुस र माघमा गर्ने गरिन्छ। हिउँदयामको जाडो मौसममा यहाँका किसानले कृषि प्राविधिकको सहयोगमा स्याउ बगैँचाको व्यवस्थापन गर्ने गरेका छन्।
बोटमा पलाएका अनावश्यक हाँगाबिगाँ र पातले स्याउको गुणस्तर र उत्पादनमा ह्रास पुर्याउन सक्ने भएकाले उपयुक्त काँटछाँट गर्न बगैँचा व्यवस्थापन कार्य गरिएको ज्ञान केन्द्र बाजुराको भनाइ छ। स्याउखेतीका लागि हिउँदयामको हिउँ अति आवश्यक मानिन्छ ।

बगैँचा व्यवस्थापन गर्ने समयमा परेको हिउँले जमिनको उर्वराशक्तिलाई मजबुद बनाउने, जमिनको भित्री तहसम्म सिँचाइ पुग्ने र रोग–किराको सङ्क्रमणलाई न्यूनीकरण गर्न मद्दत पुर्याउन सहयोग गर्छ। बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ उत्पादन हुने गरेको छ ।

बाजुरामा स्याउ उत्पादन हुने जम्मा ४२५ हेक्टर क्षेत्रफल रहेकोमा दुई सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिन्छ। जहाँ जम्मा १ हजार ६ सय मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ ।यस वर्ष बाजुरामा पाँच सय मेट्रिकटन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ। बगैँचा सुदृढीकरण तथा व्यवस्थापन पश्चात् बगैंचाको पुनः अध्ययन अवलोकन गरिने ज्ञान केन्द्र बाजुराले जनाएको छ।




Facebook Comments