Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सामाजिक सञ्जालको दुरुपयोग रोक्न आयोगको डिजिटल एक्सन

डिपफेक र झुटा सूचनाको बिगबिगी

User Image मेयरसाप डेस्क | २०८२ फागुन १७ गते १४:४४
Image of https://mayorsap.com/storage/photos/shares/nirbachan-aayog-2.jpg

काठमाडौं । निर्वाचनको संघारमा सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना र ‘डिपफेक’ सामग्रीप्रति निर्वाचन आयोगले चासो व्यक्त गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले झुटा प्रचारका लागि सामाजिक सञ्जालको चरम दुरुपयोग भइरहेको भन्दै यस्ता गतिविधि नियन्त्रणमा आयोग सक्रिय रहेको बताए ।

प्रेस काउन्सिल नेपालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले आर्टिफिसियल इन्टेलिजेन्सबाट सिर्जित ‘डिपफेक’ सामग्रीहरूको चुनौती थपिएको उल्लेख गरे । आयोगको तथ्याङ्क अनुसार शुक्रबारसम्म ६१२ वटा हानिकारक सूचनाहरू पहिचान (ट्र्याक) गरिएको छ, जसमाथि अहिले कारबाही प्रक्रिया अगाडि बढिसकेको छ ।

आयोगले पहिचान भएका त्यस्ता भ्रामक सूचनाहरूको प्रकृति हेरी तीनवटा निकायमार्फत कारबाही चलाएको छ । विद्युतीय कारोबार ऐन आकर्षित हुने विषयमा नेपाल प्रहरीलाई जिम्मा दिइएको छ भने निर्वाचन आचारसंहिता उल्लंघनको हकमा केन्द्रीय आचारसंहिता अनुगमन समितिले छानबिन गरिरहेको छ ।

कार्यवाहक आयुक्त भण्डारीले प्रविधिको दुरुपयोग रोक्न आयोगले आफ्ना संयन्त्रहरू परिचालन गरे पनि गलत प्रचार रोक्न सञ्चार जगत्को भूमिका उत्तिकै महत्त्वपूर्ण हुने अपेक्षा राखे ।


Facebook Comments