Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

चतुर नेताका सेफ ल्याण्डिङ फेल, क–कसको बढ्दैछ बेचैनी ?

प्रचण्ड–स्वर्णिम नै संकटमा !

User Image जनेश ठकुल्ला | २०८२ फागुन १९ गते १६:१७
Image of https://mayorsap.com/storage/photos/shares/chatu-leader.jpg

देशभर नयाँ राजनीतिक शक्तिहरूको उभार र मतदाताको बदलिँदो मनोविज्ञानका कारण शीर्ष र चर्चित नेताहरूकै सात्तो उडेको छ । हिजोसम्म सुरक्षित मानिएका प्रभावशाली नेताहरूलाई यसपटक संसद् छिर्न धौ–धौ पर्ने देखिएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड, रुकुम पूर्व–१
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड यसपालि सेफ ल्यान्डिङको खोजीमा छन् । यसपटकको निर्वाचनसम्म आइपुग्दा उनी आफ्नो राजनीतिक जीवनको छैटौँ निर्वाचन क्षेत्रको रूपमा रुकुम पूर्व पुगेका छन् । रोल्पाबाट सुरु भएको उनको चुनावी यात्रा काठमाडौं, सिराहा, चितवन, गोरखा हुँदै अहिले रुकुम पुगेको हो ।

चितवनमा आफ्नै पुत्री रेणु दाहाल मेयर हुँदाहुँदै पनि असुरक्षित महसुस गरेर गत निर्वाचनमा गोरखा पुगेका प्रचण्ड यसपटक रुकुम पुग्दा उनको लोकप्रियता खस्किएकाले सकस पर्ने देखिन्छ । त्यसैमाथि जनयुद्ध लडेका आफ्नै कार्यकर्ताको असन्तुष्टि र नयाँ पुस्तामा बदलिएको मनोविज्ञानले लालकिल्ला भनिएको रुकुममा पनि प्रचण्ड यसपालि ढुक्क देखिएका छैनन् ।

माधवकुमार नेपाल, रौतहट–१
नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपाल पुनः रौतहट–१ बाट नयाँ पार्टी र नयाँ चुनाव चिह्नका साथ मैदानमा छन् । जीवनको उत्तरार्द्धतिर पटकपटक नयाँ पार्टी खोल्दै जोखिम उठाइरहेका नेपालका लागि यसपालिको प्रतिस्पर्धा विगतभन्दा निकै चुनौतीपूर्ण छ । गत जेठमा अख्तियारले पतञ्जलि योगपीठ प्रकरणमा उनीविरुद्ध मुद्दा दायर गरेपछि उनको छविमा दाग लागेको छ । साथै विपक्षीको बलियो घेराबन्दीले माधवलाई यसपटक रौतहटको घामले पसिना निकालिदिएको छ । 

शेखर कोइराला, मोरङ–६
कांग्रेसका हेभीवेट नेता शेखर कोइरालालाई मोरङमा आफ्नै पार्टीभित्रको अन्तर्घात र एमालेको लालकिल्ला तोड्ने चुनौती छ । गत निर्वाचनमा विजयी भए पनि जितेर गएपछि खासै ठुलो काम गर्न नसकेको जनगुनासो उनीतिरै तेर्सिएको छ । कोइराला परिवारको विरासतले मात्र उनलाई भोट नआउने अवस्था आइसकेको छ । विशेष महाधिवेशनमा देउवा पक्षलाई सघाएपछि उनको विद्रोही छविमा पनि धक्का लागेको छ । 

स्वर्णिम वाग्ले, तनहुँ–१
रास्वपाका उपसभापति स्वर्णिम वाग्लेलाई तनहुँ–१ मा टुरिस्ट उम्मेदवारको ट्यागले सताइरहेको छ । उपनिर्वाचनमा फराकिलो मतान्तरले जितेका स्वर्णिमलाई यसपालि पुराना दलहरूले गरेको घेराबन्दीले झस्काएको छ । कांग्रेस र एमालेका सशक्त उम्मेदवारसँग पुनः कडा प्रतिस्पर्धा गर्दा वाग्लेलाई यसपटक घण्टी बजाउन त्यति सजिलो देखिएको छैन । रास्वपाको शीर्ष नेतृत्वमा रहेका स्वर्णिमको राष्ट्रिय स्तरमा व्यापक चर्चा हुने गरेको भए पनि भुइँतहको राजनीति र पुराना दलको नेटवर्किङ तोड्न उनलाई फलामको चिउरा चपाउनु सरह हुनेछ ।

प्रकाशशरण महत, नुवाकोट–१
सधैँ समानुपातिकको आडमा संसद् छिर्ने कांग्रेसका नेता प्रकाशशरण महतलाई यसपटक नुवाकोट–१ अग्निपरीक्षा बनेको छ । तीन पटक समानुपातिकबाट सांसद बनेका महत प्रत्यक्षमा सधैँ कमजोर देखिन्छन् । २०७४ मा काठमाडौं–५ मा पराजित भएका महत यसपटक नुवाकोट–१ बाट भाग्य चम्काउने दाउमा छन् । तर विकास भन्दा बढी भाषण गर्ने र गुटको राजनीति गर्ने आरोपले उनलाई पोलिरहेको छ । 

वर्षमान पुन, रोल्पा–१
नेपाली कम्युनिस्ट पार्टीबाट रोल्पा–१ बाट वर्षमान पुन चुनावी मैदानमा छन् । तत्कालीन माओवादीको मुटु मानिने रोल्पामा यसपालि घण्टी र स्वतन्त्रको व्यापक चर्चा छ, जुन वर्षमानका लागि शुभ संकेत देखिँदैन । २०६४ सालपछि तत्कालीन माओवादीबाट लगातार जित्दै आएका वर्षमानको जग यसपालि हल्लिएको छ । बिग्रिएको राजनीतिक समीकरण बीच वर्षमानलाई रोल्पाबाट चुनाव जित्न निकै सकस छ, भने आफ्नै गृह जिल्लामा विप्लव समूहको भोट काट्ने रणनीति अर्को टाउको दुखाइ बनेको छ । 

जनार्दन शर्मा, रुकुम पश्चिम–१
रुकुम पश्चिमका अघोषित राजा मानिने जनार्दन शर्मालाई यसपटक आफ्नै विरासत जोगाउन मुस्किल देखिएको छ । पार्टीभित्रको आन्तरिक कलह र प्रचण्ड–जनार्दन दूरीको असर भुइँतहका कार्यकर्तासम्म देखिन्छ । गत निर्वाचनमा कांग्रेस र एकीकृत समाजवादीको सहयोगमा ह्याट्रिक गरेका जनार्दन अहिले तत्कालीन माओवादी छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टीको ओत लागेका छन् । १८ घण्टे लोडसेडिङ अन्त्य गरेको र उज्यालो रुकुम अभियान चलाएको विरासत हुँदाहुँदै नयाँ पार्टी र कमजोर संगठनका कारण उनी झस्किएका छन् । 

सिके राउत, सप्तरी–२
गत निर्वाचनमा उपेन्द्र यादवलाई पछारेर जादु देखाएका सिके राउतलाई यसपालि त्यो जादु टिकाइराख्ने ठुलो चुनौती छ । मधेस आन्दोलनको राप र ताप घटेपछि र सरकारमा गएर खासै केही नफेरेको आरोप लागेपछि सिके राउतलाई सप्तरीमा यसपालि अग्निपरीक्षा दिनुपर्ने अवस्था छ । गत निर्वाचनमा उपेन्द्र यादवलाई हराउँदा जुन क्रेज थियो, अहिले त्यो क्रेजमा बिस्तारै खिया लागेको छ । 

उपेन्द्र यादव, सप्तरी–३
मधेस राजनीतिका मसिहा मानिने उपेन्द्र यादवलाई यसपटक सप्तरी–३ मा अस्तित्व जोगाउने लडाइँ छ । २०७९ सालमा सप्तरी–२ मा फराकिलो मतान्तरले पछारिएका यादवले संसद् छिर्न उपनिर्वाचनको सहारा लिनुपरेको थियो । यसपटक उनले अघिल्ला दुवै क्षेत्र छाडेर सप्तरी–३ रोजेका छन् । यो निर्वाचन उनको लागि मधेसको मसिहाको छवि जोगाउने अन्तिम मौका जस्तै बनेको छ । 

राजेन्द्र महतो, सर्लाही–२
मधेस आन्दोलनका अग्रणी मानिने राजेन्द्र महतोका लागि सर्लाही–२ यसपालि अस्तित्वको लडाइँ बनेको छ । कहिले धनुषा, कहिले रुपन्देही त कहिले काठमाडौं चहारेका महतोलाई यसपालि सर्लाहीका मतदाताले पाहुना उम्मेदवारको ट्याग भिराइदिएका छन् । पूर्व सहकर्मी महिन्द्रराय यादवसँग प्रतिस्पर्धा गर्न आएका महतोलाई आफ्नै पुरानो जनमत जोगाउन भयङ्कर मिहिनेत गर्नुपर्ने देखिन्छ । पटक पटक सत्तामा गएर पनि मधेसका लागि केही नगरेको आरोप उनीमाथि छ । 
०००


Facebook Comments