सिरहामा शान्तिपूर्णरुपमा मतदान सम्पन्न, करिब ६५ प्रतिशत मत खस्यो
मुकेशकुमार यादव
|
२०८२ फागुन २१ गते २०:०८
सिरहा। प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिरहा जिल्लामा मतदान शान्तिपूर्णरूपमा सम्पन्न भएको छ। जिल्लाभर करिब ६५ प्रतिशत मत खसेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा कुनै अवरोध बिना मतदान प्रक्रिया सम्पन्न भएको हो। चारवटै क्षेत्रमा ६२ देखि ६५ प्रतिशतको हाराहारीमा मतदान भएको निर्वाचन कार्यालय सिरहाले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय सिरहाका निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार अहिले विभिन्न मतदान केन्द्रबाट विवरण संकलन भइरहेको छ।
उनले भने, ´अहिले सबै केन्द्रबाट विवरण आउने क्रममा छ। सबै विवरण प्राप्त भएपछि मात्र ठ्याक्कै प्रतिशत भन्न सकिन्छ। हालसम्म प्राप्त तथ्यांकअनुसार ६२–६५ प्रतिशतको हाराहारीमा मत खसेको देखिएको छ।´
सिरहा जिल्लामा कुल ४ लाख ५३ हजार ६४५ मतदाता रहेका छन्। तीमध्ये २ लाख ४१ हजार ६१५ पुरुष, २ लाख १२ हजार २८ महिला तथा २ जना अन्य मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दलका ५३ जना तथा ८५ जना स्वतन्त्र उम्मेदवार गरी कुल १३८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। उम्मेदवारमध्ये विभिन्न दलबाट ३ जना र स्वतन्त्रबाट ५ जना गरी ८ जना महिला उम्मेदवार रहेका छन्।
निर्वाचनका लागि जिल्लाभर २ अस्थायी मतदानस्थलसहित २२५ मतदानस्थल र ५३७ मतदान केन्द्र स्थापना गरिएको थियो। निर्वाचन सम्पन्न भएसँगै आजै रातिबाट मतगणना प्रक्रिया सुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
Facebook Comments