Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

नेपालको निर्वाचन शान्तिपूर्ण र व्यवस्थित, पहुँच र पर्यवेक्षक प्रवेशमा केही समस्या : एएनफ्रेल

User Image मेयरसाप डेस्क | २०८२ फागुन २१ गते २१:०७
Image of https://mayorsap.com/storage/photos/shares/anferel.png

काठमाडौं । अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण संस्था एशियन नेटवर्क फर फ्री इलेक्सन्स (एएनफ्रेल) ले नेपालमा आज सम्पन्न प्रतिनिधिसभा निर्वाचन समग्रमा शान्तिपूर्ण र व्यवस्थित वातावरणमा सम्पन्न भएको जनाएको छ।

बिहीबार काठमाडौंमा वक्तव्य जारी गर्दै एएनफ्रेलले देशभरका मतदाताले लोकतान्त्रिक प्रक्रियाप्रति आफ्नो प्रतिबद्धता देखाउँदै सक्रिय रूपमा मतदानमा सहभागिता जनाएको उल्लेख गरेको छ।

एएनफ्रेलको अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण मिसनले नेपालका शहरी तथा ग्रामीण क्षेत्रका ३०३ मतदान केन्द्रमा अवलोकन गरेको जनाएको छ। तीमध्ये करिब ५९.४१ प्रतिशत शहरी क्षेत्र र ४०.५९ प्रतिशत ग्रामीण क्षेत्र रहेका थिए। साथै ५६.११ प्रतिशत पहाडी क्षेत्र र ४३.८९ प्रतिशत तराई क्षेत्रमा अवलोकन गरिएको एएनफ्रेलले जनाएको छ।

मतदान प्रक्रिया समग्रमा व्यवस्थित

एएनफ्रेलका अनुसार अधिकांश मतदान केन्द्रमा मतदान प्रक्रिया सहज रूपमा सञ्चालन भएको थियो। अवलोकन गरिएका करिब ७२.२२ प्रतिशत मतदाताले पाँच मिनेटभित्रै मतदान सम्पन्न गर्न सकेका थिए।

करिब ९४ प्रतिशत मतदान केन्द्रमा मतपत्र, मतपेटिका, मतदाता नामावली, आधिकारिक छाप तथा अमिट मसीजस्ता आवश्यक सामग्री उपलब्ध रहेको पनि एएनफ्रेलले जनाएको छ।

यद्यपि सबै मतदान केन्द्रमा मतदान ठीक निर्धारित समयमै सुरु हुन सकेन। एएनफ्रेलका अनुसार करिब ५६ प्रतिशत मतदान केन्द्रमा मात्र निर्धारित समयमा मतदान सुरु भएको थियो भने अन्य केही स्थानमा प्रशासनिक तयारीका कारण सामान्य ढिलाइ भएको थियो।

अमिट मसी र मतदान गोपनीयतामा केही समस्या

एएनफ्रेलले केही मतदान केन्द्रमा प्रयोग गरिएको अमिट मसी सजिलै मेटिने वा चाँडै फिक्का हुने समस्या देखिएको उल्लेख गरेको छ। यसले दोहोरो मतदान रोक्ने व्यवस्थाको प्रभावकारिताबारे प्रश्न उठाउन सक्ने एएनफ्रेलले जनाएको छ।

त्यस्तै केही मतदान केन्द्रमा मतदान गोपनीयता पूर्ण रूपमा सुनिश्चित नहुने अवस्था पनि देखिएको बताइएको छ। कतिपय स्थानमा मतदान बुथको संरचना वा स्थान मिलानका कारण बाहिरबाट मतपत्र चिन्ह लगाउने प्रक्रिया देखिने सम्भावना रहेको पर्यवेक्षकहरूले बताएका छन्।

पर्यवेक्षक प्रवेशमा असंगत व्यवहार

एएनफ्रेलले केही मतदान केन्द्रमा अन्तर्राष्ट्रिय तथा घरेलु पर्यवेक्षकलाई पूर्ण रूपमा अवलोकन गर्न कठिनाइ भएको पनि जनाएको छ।

कतिपय स्थानमा सुरक्षाकर्मीले पर्यवेक्षकलाई मतदान केन्द्रभित्र सीमित समय मात्र बस्न आग्रह गरेको वा निश्चित स्थानमा मात्र रहन निर्देशन दिएको पाइएको एएनफ्रेलको प्रतिवेदनमा उल्लेख छ।

केही स्थानमा मतदान केन्द्र बन्द गर्ने चरणमा पर्यवेक्षकलाई बाहिर जान भनिएको पनि एएनफ्रेलले जनाएको छ। यसले मतदानको अन्तिम प्रक्रियाको पूर्ण अवलोकनमा बाधा पुगेको बताइएको छ।

एएनफ्रेलका अनुसार यस्तो अवस्था मुख्यतः केही सुरक्षाकर्मीलाई अन्तर्राष्ट्रिय पर्यवेक्षकको भूमिकाबारे पर्याप्त जानकारी नहुँदा देखिएको हुनसक्छ।

पहुँच र समावेशितामा चुनौती

एएनफ्रेलले मतदान केन्द्रहरूमा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि पहुँचको समस्या अझै देखिएको उल्लेख गरेको छ।

अवलोकन गरिएका मतदान केन्द्रमध्ये करिब ३९ प्रतिशतमा मात्र र्याम्पको व्यवस्था रहेको थियो। धेरै मतदान केन्द्र विद्यालय भवनमा भएकाले सिँढी, असमान बाटो वा उचाइका कारण ह्वीलचेयर प्रयोगकर्तालाई कठिनाइ भएको पाइएको एएनफ्रेलले जनाएको छ।

कतिपय स्थानमा मतदाताले परिवारका सदस्य, सुरक्षाकर्मी वा कर्मचारीको सहयोगमा मात्र मतदान केन्द्रमा प्रवेश गर्न सकेका थिए।

सुरक्षा उपस्थिति उच्च

एएनफ्रेलका अनुसार मतदान केन्द्रहरूमा सुरक्षाकर्मीको उपस्थिति व्यापक रूपमा देखिएको थियो। अवलोकन गरिएका करिब ७२ प्रतिशत मतदान केन्द्रमा सशस्त्र सुरक्षाकर्मी मतदान केन्द्रभित्रै उपस्थित थिए।

सुरक्षा व्यवस्थाले समग्रमा निर्वाचनलाई शान्तिपूर्ण बनाएको भए पनि मतदान क्षेत्रमा हतियारसहित सुरक्षाकर्मीको अत्यधिक नजिक उपस्थिति देखिँदा मतदातामा मनोवैज्ञानिक प्रभाव पर्न सक्ने चिन्ता पनि एएनफ्रेलले व्यक्त गरेको छ।

समग्र मूल्यांकन सकारात्मक

एएनफ्रेलका अनुसार अवलोकन प्रतिवेदनमध्ये ३९ प्रतिशतले निर्वाचन प्रक्रियालाई ‘औसत’ भनेका छन् भने ३३ प्रतिशतले ‘राम्रो’ र २२ प्रतिशतले ‘धेरै राम्रो’ मूल्यांकन गरेका छन्। करिब ६ प्रतिशतले मात्र ‘कमजोर’ मूल्यांकन गरेका छन्।

समग्रमा निर्वाचन शान्तिपूर्ण र प्रभावकारी रूपमा सम्पन्न भएको एएनफ्रेलले निष्कर्ष निकालेको छ।

एएनफ्रेलले मतगणना प्रक्रिया र निर्वाचनपछिको वातावरण पनि अवलोकन जारी राख्ने जनाएको छ। साथै आगामी ८ मार्चमा काठमाडौंको मल्ला होटलमा अन्तरिम प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ।


Facebook Comments