विराजभक्त श्रेष्ठ भन्छन् : ‘निलो क्रान्ति’ सुरु भयो
मेयरसाप डेस्क
|
२०८२ फागुन २२ गते १८:४६
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठले जित हासिल गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत जनउद्वार माध्यमिक विद्यालयस्थित मतगणना स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले जनताले भ्रष्टाचारको अन्त्य, सुशासन र परिवर्तनको पक्षमा मत दिएको बताएका छन् ।
उनले भने, ‘जनताले भ्रष्टाचारको अन्त्य, सुशासन र परिवर्तनलाई अनुमोदन गरेको जस्तो मलाई लागेको छ । देशभर लहर चलेको छ । सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्न चाहन्छु । जुन विवेक प्रयोग गर्नुभएको छ, त्यसले राम्रो सन्देश दिएको छ ।’
श्रेष्ठले देशमा ‘निलो क्रान्ति’ को सुरुवात भएको दाबी पनि गरे । ‘अब निलो क्रान्तिको सुरुवात भएको छ । सबै साथीहरूलाई विनम्र हुन पनि अनुरोध गर्छु । देशभर जनताले रास्वपालाई जिताउन अनुमोदन गर्नुभएको छ । देशव्यापी रूपमा हामीले पहिले संसदमा खेलेको भूमिका जनताले नियालेको कारण आज यति धेरै मत ल्याउन सफल भएका छौं,’ उनले भने ।
उनले २४ हजार ५९२ मतसहित जित हासिल गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत पाउँदा नेपाली कांग्रेस उम्मेदवार सपना राजभण्डारीले २ हजार ८३५ मत प्राप्त गरिन् ।
२०७९ को निर्वाचन पनि श्रेष्ठले यही क्षेत्रबाट जित निकालेका थिए । यससँगै रास्वपाले तीन सीटमा जित हासिल गरिसकेको छ । रास्वपाले यसअघि काठमाडौं–१ र ६ मा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् ।
कांग्रेसले एक सीटमा जीत हासिल गरेको छ भने एमाले र नेकपाले खाता खोलेका छैनन् ।
Facebook Comments