मतगणना प्रक्रियालाई शान्तिपूर्ण बनाउनेतर्फ केन्द्रित हुन आईजीपी कार्कीको निर्देशन
मेयरसाप डेस्क
|
२०८२ फागुन २२ गते २१:२९
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्यको जारी मतगणना प्रक्रियालाई शान्तिपूर्ण बनाउन उच्च मनोबलका साथ काम गर्न देशभरका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट ‘भर्चुअल’ माध्यमद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानपश्चात् अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तुमा आज प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
प्रहरी महानिरीक्षक कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान प्रक्रियालाई शान्तिपूर्ण, भयरहित एवं निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरूले उच्च मनोबलका एवं जिम्मेवारीबोधका साथ प्रदर्शन गरेको व्यावसायिकता प्रशंसनीय रहेको बताए ।
प्रहरी महानिरीक्षक कार्कीले मतगणनास्थलमा देखा पर्नसक्ने सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न सूचना सङ्कलनलाई विशेष प्राथमिकतामा राखी आवश्यक सुरक्षा रणनीतिसहित प्रभावकारी प्रहरी परिचालनमा विशेष सतर्कता अपनाउन निर्देशन दिए।
मतगणनास्थल, मतगणनाको परिणाम एवं विजयी दलको र्याली, जुलुसलगायतका क्रियाकलापमा कुनै पनि त्रुटि नहुने गरी थप संवेदनशील भई कार्य गर्नसमेत आग्रह गरे । उनले सामाजिक सञ्जालमा गलत सूचना तथा मिथ्या सूचना सम्प्रेषणमा संलग्नलाई कानुनी दायरामा ल्याउन थप सक्रिय रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए ।
Facebook Comments