जितेपछि राजीव खत्रीकाे उद्घोष– अब कानुनी राज भक्तपुर–२ बाट सुरु हुन्छ
मेयरसाप डेस्क
|
२०८२ फागुन २३ गते १४:२५
काठमाडौं । प्रतिनिधि सभा सदस्य पदमा भक्तपुर–२ मा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्रीले अब कानुनीराज भक्तपुर–२ बाट सुरु हुने बताएका छन् ।
शनिबार निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले कानुनलाई केही मान्छेले मुठ्ठीमा लिँदा जनताहरु खुलेर समर्थन गर्न नसक्ने अवस्था आफूले पाएको भन्दै अब कानुनी राज भक्तपुर–२ बाट सुरु हुने प्रतिक्रिया दिएका हुन् ।
‘हाम्रो देशमा कानुनलाई केही मान्छेले मुठ्ठीमा लिन्छन, जसले गर्दा आम नागरिक डर त्रासले बस्छन् । मानिसहरु खुल्न सकेका थिएनन् । स्वागत गर्न सकेको थिएनन् । अब कानुनी राज भक्तपुर–२ बाट सुरु हुन्छ’ उनले भने ।
त्यस्तै उनले आफूले भक्तपुर –२ बाट जित्दा सिंगो देशले जित्ने अवस्था बनेको भन्दै प्रतिस्पर्धी कोही उम्मेदवारले पनि हारको महशुस गर्न नपर्ने धारणा राखे ।
‘म भक्तपुर–२ मा जित्न आएको हुँ, जितें । तर कसैले हार महशुस गर्नुपर्दैन । भक्तपुरमा राजीव खत्रीले जित्दै गर्दा भक्तपुसँगै देशले जित्ने अवस्था बन्छ । कोही पनि ३२ जना प्रतिस्पर्धी उम्मेदवारको सहि एजेण्डाले पनि जित्छ’, उनले भने ।
त्यस्तै एमालेका उम्मेदवार महेश बस्नेतले आफूलाई ‘फुच्चे’ भनेर सम्बोधन गरेकोप्रति जवाफ फर्काउँदै अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई फुच्चे नालायक देखेपनि समय फुच्चे र नालायककै हुने प्रतिक्रिया दिए ।
उनले भने,‘म जनताको तराजुमा जोखिन आएको थिएँ । यहाँ को हार्यो को जित्यो भन्दापनि सबैले जित्यौं भन्ने मलाई लागेको छ । उहाँ उमेरमा पनि म भन्दा ठूलो हुनुहुन्छ । राजनीतिको हिसाबले पनि अगाडि हुनुहुन्छ । त्यसैले मलाई उहाँले फुच्चे भन्नुभएको होला, त्यो स्वभाविक हो ।
अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई जहिल्यै पनि फुच्चे देख्छ । नालायक देख्छ । तर जति नै फुच्चे र नालायक भएपनि समय उसको नै हुन्छ । सबैभन्दा बलवान समय र जनता हुन् ।’
Facebook Comments