Ad Image

धनगढी उपमहानगरमा ६ वटा नगर बस सञ्चालनमा ल्याउने तयारी

User Image Mayorsap | १० महिना अगाडि
Image of storage/news/1721626932.jpg

धनगढी उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याउने भएको छ।

 

धनगढी उपमहानगरले दुई करोड ४८ लाखमा ३२ सिट भएका ६ वटा बस खरिद गरेर सञ्चालनको तयारी गरेको मेयर गोपाल हमालले बताए । नगर बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले ठेक्का सम्झौता गर्न इच्छुक कम्पनी तथा फर्मलाई ३० दिने बोलपत्र समेत आह्वान गरेको छ। केही दिन अघि सूचना जारी गर्दै उपमहानगरपालिकाले ६ वटा बसलाई १० वर्षसम्मका लागि बस सेवा सञ्चालन गर्न ठेक्का लगाइने जनाएको थियो।

 

जारी सूचनामा मूल्य अभिवृद्धि कर बाहेक २१ लाख ६० हजार रुपैयाँ ठेक्का न्यूनतम अंक राखिएको छ। प्रत्येक वर्ष बोलपत्रदाताले कबोल गरेको ठेक्का रकम बराबरको रकम तीन किस्तामा उपमहानगरपालिकालाई तिर्नुपर्नेछ। पहिलो किस्ताको रकम सम्झौता गरेको दिन अग्रिम, बुझाउनुपर्ने, बाँकी दुई किस्ता मंसिर र चैतभित्र बुझाउनुपर्ने उपमहानगरपालिकाले जनाएको छ। बसको मर्मत सम्भार, इन्धन, चालक, सहचालक लगायतको खर्च ठेक्का लिने पक्षले तिर्नुपर्ने, तोकिएको स्थान वा रूटबाहेक सञ्चालन गर्न नपाइने जारी सूचनामा उल्लेख गरिएको छ।

 

नगर बसमा (लुनाजिपिएसं) र सिसिटिभी क्यामरा पनि जडान गरिएको छ। कैलालीको कैलारी गाउँपालिकादेखि गोदावरी नगरपालिकासम्म बसहरू सञ्चालनका लागि रूट तयार गर्ने काम भइरहेको छ। उपमहानगरपालिकाका १९, १८, १७, १६, १४ र ११ नम्बर वडाहरूमा समयमै गाडी चल्ने अवस्था नभएकाले यी वडाहरूमा सर्वसाधारणलाई सजिलो होस् भन्ने उद्देश्यले बस सेवा सञ्चालनमा ल्याउने तयारी भएको मेयर हमालको भनाई छ ।