निस्दी गाउँपालिकामा ७० प्रतिशतले घट्यो बालविवाह


पाल्पाको निस्दी गाउँपालिकामा बालविवाह ७० प्रतिशतले घटेको तथ्यांक छ । निस्दीमा आर्थिक वर्ष २०७९र८० मा २७६ जोडीको बालविवाह भएकामा गत वर्ष ५२ जोडीको मात्रै बालविवाह भएको छ ।
आर्थिक वर्ष २०७९र८० सम्म लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहमध्ये पाल्पाको निस्दी गाउँपालिका सबैभन्दा धेरै बालविवाह हुनेमा सूचीकृत भएपछि यहाँका जनप्रतिनिधिले बालमैत्री स्थानीय शासन लागू गरेका थिए । स्वअनुरुप गत आर्थिक वर्ष ७० प्रतिशतले बालविवाह घटेको गाउँपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा पालिकाका ७ वडाबाट २ सय ७६ जोडीले बालविवाह गरेकोमा आर्थिक वर्ष २०८०/८१ तथ्यांक घटेर ५२ जोडीले गैरकानुनी विवाह गरेको भेटिएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताए । अघिल्लो आर्थिक वर्ष निगरानी गर्ने क्रममा पालिकाभित्रका ७ वडाबाट बालविवाह गर्ने ७ जोडीलाई फिर्ता गरिएको थियो । गत वर्ष पनि कम उमेरमा विवाह गर्नेहरु एकै दिनमा दुई जोडीसमेत फिर्ता गरिएको छ । यसअघि ५ जोडी फिर्ता गरिएको छ ।