Ad Image

जुम्लामा बालमैत्री र अपाङ्गतामैत्री विद्यालय भवनको उद्घाटन

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1726997644.jpg

जुम्ला । जुम्लाको दुर्गम बस्तीमा बालमैत्री र अपाङ्गतामैत्री ५ वटा आधुनिक विद्यालय भवनको निर्माण सम्पन्न भएको छ। हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा निर्माण गरिएका यी भवनहरूको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले गरेका हुन्।

 

नवनिर्मित भवनहरूमा भैरव आधारभूत विद्यालय, महादेव आधारभूत विद्यालय, सिंजा गाउँपालिकाको आधारभूत विद्यालय, र कनकासुन्दरी गाउँपालिकाका दुई आधारभूत विद्यालयहरू समावेश छन्। यी विद्यालयहरूमा ४ कोठाको अपाङ्गतामैत्री र बालमैत्री सुविधाहरू उपलब्ध गराइएको छ, जसमा महिला र पुरुषका लागि शौचालय, हात धुने स्थान र कक्षा कोठाहरू रहेका छन्।

 

प्लान नेपालका सहयोगमा निर्माण गरिएका यी भवनहरूको लागत रु ३ करोड ४९ लाख ५४ हजार ५३ रहेको छ, जसमा स्थानीय सरकारको योगदान रु १३ लाख रहेको छ। उद्घाटन समारोहमा उपस्थित मन्त्री भण्डारीले विद्यालयमा गुणस्तरीय भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए र यस भवनको भरपूर प्रयोग गरि शिक्षामा टेवा पुर्याउन अनुरोध गरेका थिए।

 

सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले शिक्षा क्षेत्रमा लगानी गर्ने कुरा सबैभन्दा उत्तम हुने उल्लेख गर्दै गुणस्तरीय भवन निर्माणमा सहयोग गर्ने सबैलाई प्रशंसा गरेका थिए। हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही र कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले पनि यस कार्यमा सहयोग गर्ने निकायलाई धन्यवाद दिएका थिए।

 

भैरव आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष उमनाथ योगीले जिर्ण अवस्थामा रहेका कक्षा कोठाहरूको सट्टा नयाँ भवन निर्माण भएकोमा खुशी व्यक्त गर्दै यसले विद्यालय सञ्चालनमा ठूलो राहत पुर्याएको बताए।

 

नवनिर्मित भवनहरूको राम्रो निर्माणमा जिम्मा लिएको भिजन निर्माण सेवाका प्रोपाइटर राष्टु कठायतलाई सम्मान गरिएको छ। प्लान ईन्टरनेश्नल नेपालका प्रोगाम निर्देशक जुली गुरुङले अभाव भएको क्षेत्रमा काम गर्न पाउँदा खुसी व्यक्त गरिन्।