पुनर्संरचनाको त्रुटि: मेलौली नगरपालिका–३ मा आधाभन्दा बढी घरमा ताला!


बैतडी । मेलौली नगरपालिका–३ को ढणौँन गाउँमा पुनर्संरचनाको त्रुटिका कारण आधाभन्दा बढी घरधुरी खाली भएका छन्।
मेलौली नगरपालिकाका मेयर भीमबहादुर चन्द पानीको मुहान खोज्न गाउँ पुगेका बेला अधिकांश घरमा ताला लागेको अवस्थामा भेटिएका छन्। गाउँका स्थानीयले आधारभूत स्वास्थ्य सेवा र शिक्षा सुविधाको अभावका कारण गाउँ छाड्न बाध्य भएका हुन्। गाउँमा सिटामोलजस्ता सामान्य औषधि लिन पनि अर्को पालिकामा जानुपर्ने र विद्यार्थीहरूलाई १० किलोमिटर पैदल हिँडेर विद्यालय जानुपर्ने अवस्था रहेको छ।
पुनर्संरचनाका बेला दुर्गास्थान गाविसलाई हचुवाका भरमा तीन ठाउँमा बाँड्दा यो समस्या उत्पन्न भएको हो। स्थानीयले चार वर्षअघि मेलौली नगरपालिकामा ज्ञापनपत्र बुझाए पनि हालसम्म सुनुवाइ भएको छैन।
मेयर चन्दले पुनर्संरचनामा त्रुटि भएको स्वीकार्दै सीमा हेरफेर आवश्यक रहेको बताएका छन्।