सुरक्षित प्रसूति सेवामा पहुँच बढाउन स्वास्थ्य संस्थामा शिशु स्वागत घर


काठमाडौँ
असोज २९ गते,
म्याग्दीको धवलागिरि गाउँपालिकाका स्वास्थ्य संस्थामा शिशु स्वागत घर स्थापना भएको छ । स्वास्थ्य संस्थादेखि टाढा रहेका भौगोलिक रूपमा विकट र दुर्गम बस्तीका विपन्न तथा गरिब समुदायका गर्भवतीलाई लक्षित गरेर गाउँपालिकाले शिशु स्वागत घर स्थापना गरेको हो । सुरक्षित प्रसूति सेवामा पहुँच बढाउन शिशु स्वागत घर सञ्चालन गरिएको धवलागिरि गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले बताइन् ।
“सुत्केरी हुने मिति नजिकिएपछि गर्भवती र आफन्त बास बस्नका लागि सबै स्वास्थ्य संस्थामा एक एकवटा कोठामा शिशु स्वागत घर बनाएका छौं”,उनले भनिन्,“शय्या,विस्तारा,भाँडाकुँडा र सरसफाइका सामग्री,ग्यासको व्यवस्था गाउँपालिकाले गरेको छ ।”
सात वटा वडाका स्वास्थ्यचौकीमा शिशु स्वागत घर स्थापना गर्न गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको पाँच लाख रूपैयाँ बजेटबाट सामग्री खरिद गरिएको थियो ।
धवलागिरिको एउटै वडाको एउटा बस्तीदेखि अर्को बस्तीमा पुग्न पूरै दिन हिंड्नुपर्ने अवस्था छ। भौगोलिक विकटताका कारण घर छाडेर स्वास्थ्य संस्था तथा बजारका अस्पताल जान नसक्ने गर्भवती घरमै जोखिम मोलेर सुत्केरी हुनुपर्ने बाध्यता छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा धवलागिरिमा ९१ जना सुत्केरी भएका थिए । जसमध्ये तीन जना जोखिम मोलेर घरमै सुत्केरी भएका हुन् । जोखिम मोलेर घरमै सुत्केरी हुने अवस्था अन्त्य गरी मातृशिशु मृत्युदरमा कमी ल्याउने र स्वास्थ्यमा सुधार ल्याउन शिशु स्वागत घरको अवधारणा अघि सारिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।
स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मीको निगरानीमा रहने गर्भवतीलाई जटिलता भएमा समयमै अस्पताल पुर्याउन समन्वय गर्न पनि सहज हुने उनले बताए । धवलागिरिका सात वटै स्वास्थ्यचौकीमा प्रसूति केन्द्र सञ्चालन गरिएको छ ।
सुरक्षित प्रसूति सेवामा पहुँच बढाउन सुनौला हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रम पनि सञ्चालन भएको छ । सो कार्यक्रममार्फत स्वास्थ्य संस्थामा तोकिएको मितिमा गर्भ परीक्षण गराउने र सुरक्षित प्रसूति सेवा लिनेलाई कुखुरा,अण्डा,पोषिला खानेकुरा उपहार दिने गरिएको उपाध्यक्ष रेशम पुन मगरले बताए ।