Ad Image

सुलिकोट पालिकाबासीलाई मुख्यमन्त्री पाण्डेकाे आश्वासन: सबै वडामा बाह्रैमहिना गाडी चल्ने सडक बनाइदिन्छु

User Image मेयरसाप डेस्क | ८ महिना अगाडि
Image of storage/news/1729852920.jpg

गाेरखा, कात्तिक ९: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बारपाक सुलिकोट गाउँपालिकाबासीलाई सबै वडामा सधैँ गाडी चल्ने बाटाे बनाइदिने आश्वासन दिएका छन् ।

बारपाक सुलिकोट गाउँपलिकामा सञ्चालन भएकाे पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । भूगोलको कारणले पिछडिएको पालिका भएकाले त्यहाँ सडक निर्माण प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको उनकाे उद्घाेष थियाे । ‘मेरो निर्वाचन क्षेत्रमध्ये भूगोल र सडकको कारणले बारपाक सुलिकोट पिछडिएको पालिका हो, त्यसैले पालिकाभित्रको हरेक वडामा बाह्रै महिना गाडी चलाउन सक्ने सडक निर्माण गर्ने मेरो लक्ष्य हो,’ उनले भने, ‘सबै सडक कालोपत्रे बनाउन सक्छु-सक्दिन त थाहा छैन, तर मेरो कार्यकालमा यहाँको सबै सडक बाह्रै महिना चल्न सक्ने बनाउँछु ।’

यो वर्ष बारपाक सुलिकोटभित्रका सडक निर्माण गर्न मात्रै १५ करोडको बजेट विनियोजन गरिएको पनि मुख्यमन्त्री पाण्डेले बताए । पालिकाभित्रको तीन वटा सडक मसेल–जराङ–पन्द्रुङ,सौरपानी–हुँडीफाँट र देउराली–अमले–बाह्रमुले सडक खण्ड यही वर्षबाट बहुवर्षीय योजनामा लगिने उनले बताएका छन्।

संघ सरकारको पहल मार्फत सञ्चालन हुने मोटरेबल पुल सडकको कामअघि बढाउनका लागि पनि प्रदेशको ध्यानाकर्षक भएको र त्यसमा समन्वय गरेर क्रमिक रुपमा अघि बढ्ने उनले बताए । ‘हामीसँग सीमित साधन स्रोत छ, ती सीमित साधन स्रोतलाई प्रयोग गरेर असीमित कामहरु पूरा गर्नुपर्छ,’ उनले भने, ‘एकै पटकमा सबै कुरा पूरा हुन्छ भनेर सोच्ने हो भने सम्भव पनि हुन्न र केही काम पनि सम्पन्न गर्न सकिन्न ।’ 

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले एक पालिका एक खेलमैदान अवधारण पनि अघि सारेको बताएका छन् । ‘गण्डकी प्रदेशमा ८५ वटा पालिकाहरु छन्,’ उनले भने, ‘ती सबै पालिकामा एउटा जिल्लास्तरीय नभए पालिका स्तरीय खेलमैदान होस् भनेर हामीले एक पालिका एक खेलमैदान अवधारण पनि अघि सारेका छौं ।’