स्थानीय तह उपनिर्वाचन: ग्रामथानमा तयारी पूरा


मोरङ । ग्रामथान गाउँपालिकामा स्थानीय तह उपनिर्वाचनको सबै तयारी पूरा भएको छ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत भोलि मंसिर १६ गते मतदान गर्ने दिन हो । सबै मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
ग्रामथान गाउँपालिकाको अध्यक्ष चयनका लागि भोलि हुने उपनिर्वाचनमा १२ वटा मतदानस्थ र २९ वटा मतदान केन्द्र कायम गरिएको छ । ४ मतदानस्थललाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी गराए ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार उपनिर्वाचनको सुरक्षाका लागि ग्रामथानमा डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । समग्र निर्वाचन सुरक्षालाई लक्षित गरेर मोरङ प्रहरीका डीएसपी मदन केसीको नेतृत्वमा टोली खटाइएको छ ।
मतदानस्थलमध्ये संवेदनशीलमा प्रहरी निरीक्षक, सामान्यमा वरिष्ठ सइ र सइको नेतृत्वमा प्रहरी परिचालन हुने एसपी चिमरियाले जानकारी दिएका छन् । उनका अनुसार मतदानका दिन सिनियर प्रहरी अधिकृतको नेतृत्वमा ४ वटा मोबाइल गस्ती परिचालन गरिने छ । त्यसबाहेक रिजर्ब र स्ट्राइकिङ टोली पनि रहने छ ।
ग्रामथान पालिकाको अध्यक्षमा विभिन्न दलका १५ र स्वतन्त्र १ सहित १६ जनाले पालिका अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् । ग्रामथानको अध्यक्षमा नेकपा (एमाले)बाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार, नेकपा माओवादी केन्द्रबाट नमोनारायण माझी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा एकीकृत समाजवादी पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी अध्यक्षको उम्मेदवार छन् ।
२०७९ को निर्वाचनबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । गएको असार ३ गते उनको निधन भयो । रिक्त रहेको अध्यक्ष पदका लागि भोलि मतदान हुँदैछ ।