Ad Image

पाटन क्याम्पस पकेट’ विद्यार्थी भर्नाः ३० विद्यार्थीको भर्ना रद्द, योग्यताको आधारमा गर्न निर्देशन

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733389258.jpg

ललितपुर। पाटन बहुमुखी क्याम्पसमा स्नातक तहको बीएससी सीएसआईटी कोर्समा ३० विद्यार्थीको भर्ना रद्द भएको छ । विद्यार्थी संगठन र क्याम्पसका पदाधिकारी मिलेर योग्यता मिचेर ‘पकेट’का विद्यार्थीको भर्ना गरिएको थियो ।

 

नियमविपरीत भर्ना भएको उजुरी परेपछि त्रिविले छानबिन समिति बनाएको थियो । त्रिविको विज्ञान तथा प्रविधि संकायका सहायक डीन खगेश्वर मण्डलका अनुसार छानबिन समितिले योग्यता मिचेर भर्ना भएको प्रतिवेदन बुझाएपछि योग्यताको आधारमा भर्ना गर्न पाटन क्याम्पसलाई निर्देशनसहितको पत्र पठाइएको छ ।


छानबिन समितिको प्रतिवेदन अनुसार विद्यार्थी भर्ना गर्न क्याम्पसलाई डिन कार्यालयले पत्र पठाइसकेको छ। तत्काल मेरिट लिस्ट निकाल्न समेत भनिएको छ ।

 

चौथो लिस्टसम्म मेरिटको आभारमा ११४ जना विद्यार्थी भर्ना भएका थिए । त्यसपछि ३० जना भने विद्यार्थी संगठन र क्याम्पसका पदाधिकारी मिलेर भर्ना गरिएको थियो ।

 

‘फस्ट कम फस्ट’ भन्दै क्याम्पसले मेरिटको पाँचौ लिस्ट सार्वजनिक नगरी गोप्यरुपमा विद्यार्थी भर्ना गरेको थियो ।

 

फस्ट कम फस्ट भनेर विद्यार्थी भर्ना गरेको पाईएपछि भर्ना रद्द भएको हो । अब क्याम्पसले पाँचौ लिस्ट निकाल्छ र त्यसपछि नयाँ भर्ना हुन्छ ।

 

चौथो लिस्टमा प्रवेश परीक्षामा उत्तीर्ण भएका १ हजार ७९८ सम्मको नाम छ । त्यसपछि पाँचौ लिस्टमा १८ सयबाट भर्ना हुनुपर्ने हो।

 

 पाँचौं लिस्टमा १ हजार ८२८ सम्म छन् । तर क्याम्पसले नियमविपरीत ३ हजार, ४ हजार र ६ हजरमा रहेकालाई भर्ना गरेको थियो । दसैं र तिहारको बीचमा क्याम्पसले योग्यताभन्दा बाहिरका विद्यार्थी भर्ना गरेको पीडित विद्यार्थीको आरोप छ।

 

‘पहिलो, दोस्रो, तेस्रो र चौथो लिस्टसम्म प्रक्रियाबाट भर्ना भएको छ । त्यसपछि क्याम्पसले  पाँचौं लिस्ट निकालेन । क्याम्पसले मेरिट मिचेर आफ्नो पकेटको विद्यार्थी भर्ना गरेको थियो ।

 

नियम मिचेर भर्ना गर्ने क्याम्पसका पदाधिकारीलाई डिन कार्यालयले सचेत पनि गराएको छ । ‘नियमसंगत ढंगले भर्ना गर्न क्याम्पसको पूरै कमिटिलाई सचेत गराईएको छ ।

 

नियम मिचेर विद्यार्थी भर्ना गर्दा मेरिटमा नपरेकाहरु पनि कक्षामा गएर पढिरहेका थिए भने मेरिटमा परेका चाहिँ कक्षा बाहिरै थिए । पीडित विद्यार्थीहरू तिहारअघिदेखि नै बारम्बार क्याम्पस धाइरहेका छन्। तर क्याम्पसका पदाधिकारीले जो पहिला आयो त्यसैलाई भर्ना गरेको जवाफ दिने गरेको पीडित विद्यार्थीहरू बताउँछन् ।

 

क्याम्पसबाट सम्बोधन नभएपछि पीडित विद्यार्थीहरू उपकुलपति कार्यालय, रेक्टर र डिन कार्यालयमा उजुरी दिएका थिए ।