Ad Image

दलित ड्राइभर फेर्न दवाब दिएपछि झिमरुक गाउँपालिका उपाध्यक्ष पोखरेल पक्राउ

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733736202.jpg

काठमाडौं । जातीय छुवाछूतको आरोपमा प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेल पक्राउ परेका छन् ।

 

झिमरुक–६ का रेशम सुनारले जातीय छुवाछूत गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्युठानमा उजुरी दिएपछि पोखरेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।

 

भे १ च ३९९३ नम्बरको गाडी चालक रहेका सुनारले उपाध्यक्ष पोखरेले जातीय छुवाछूत गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्युठानमा मुद्दा दर्ता गरेका थिए । सुनार उक्त गाउँपालिकाले भाडामा लिएको गाडीका चालक रहेका छन् ।
 

शनिबार बेलुका जिल्ला प्रहरी कार्यालय प्युठानमा आफैँ उपस्थित भएका उपाध्यक्ष पोखरेलको मुद्दा प्रहरीले आइतबार जिल्ला अदालत प्युठानमा पेश गरेको थियो । आइतबार उनको मुद्दा हेर्न नभ्याएपछि आज उपाध्यक्ष पोखरेललाई जिल्ला अदालत पेश गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए । 

 

पाेखरेल २०७९ काे निर्वाचनमा कांग्रेसबाट पालिका उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनले आफू चढ्ने गाउँपालिकाले भाडामा लिएको गाडी चलाउने ड्राइभर दलित समुदायको भएकाले आफूलाई असहज भएको भन्दै गाडी मालिकलाई ड्राइभर फेर्न दबाब दिएकाे आराेप लागेकाे छ।

 

गाडीका ड्राइभर दलित भएकाले हिँड्डुल गर्दा ड्राइभरलाई भित्र पसाउन गाह्रो भएको भन्दै उपाध्यक्ष पाेखरेलले ड्राइभर तत्काल फेर्न गाडी मालिकलाई दबाब दिएका थिए। ड्राइभर नफेरे गाडी भाडा नविकरण समेत नहुने भनेपछि उनीविरुद्ध प्रहरीमा मुद्दा दायर भएकाे स्राेतले जानकारी दियाे।