अनुसन्धानका इन्स्पेक्टरको कारभित्र मृत भेटिए प्रहरीका सहयोगी, घटना शंकास्पद


जनकपुरधाम । बाराको सिमरा उपमहानगरपालिका- ११ स्थित सडक छेउमा अनुसन्धानका इन्स्पेक्टरको रोकिराखेको कारभित्र चालक सिटमा प्रहरीका सहयाेगी मृत भेटिएका छन् ।
सिमराका डीएसपी चिरञ्जिवी दाहालका अनुसार कारभित्र मृत भेटिएका युवक राजकुमार रुम्बा भएको र पाेष्टमार्टमका लागि शव नारायणी अस्पताल पठाइएकाे छ। जितपुरका रुम्बा सिमरा एयरपोर्टमा कार्यालय सहयोगीको पदमा कार्यरत थिए ।
रुम्बा बागमती प्रदेश ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र मृत भेटिएका हुन् । उक्त कार सिमरा एयरपोर्टमा कार्यरत राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टर श्रीकान्त तिवारीको रहेको बताइएको छ ।
'मृतक रुम्बाले इन्स्पेक्टर तिवारीबाट गाडी मागेर बाहिर निस्केका थिए, डीएसपी दाहालका अनुसार, ‘रुम्बाको टाउकोमा चोट देखिन्छ । रगत पनि निस्केको छ । घटना शंकास्पद छ । थप अनुसन्धान भइरहेको छ ।’
स्राेतका अनुसार रूम्बालाई गाेली हानिएकाे आशंका गरिएकाे छ । पाेष्टमार्टमपछि थप रहस्य बाहिरिने प्रहरीले जनाएकाे छ ।