नागार्जुनका मेयर बस्नेतमाथि ९ करोड घुस र १३ करोड सम्पत्ति शुद्धीकरणको मुद्दा दायर


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड रुपैयाँ घुस खाएको आरोपमा नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।
स्थानीय बासिन्दाहरूलाई कम मूल्यमा जग्गा बेच्न लगाई पद्मा मर्चेन्ट कम्पनी प्रालिलाई २५ करोड रुपैयाँ लाभ पुर्याएको र सो बापत उनले ९ करोड २२ लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गाहरू पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपैयाँमा उपलब्ध गराएका थिए । त्यसबाट कम्पनीका सञ्चालक राजु कँडेल र उनको कम्पनीलाई साढे २५ करोड रुपैयाँ लाभ भएको अख्तियारले जनाएको छ ।
त्यसरी हाउजिङ कम्पनीलाई लाभ दिलाए बापत मोहन बस्नेतले आफ्नो बैंक खातामा २ करोड १५ लाख रुपैयाँ घुस पाएको अख्तियारको आरोप छ । अख्तियारले मोहन बस्नेतकी पत्नी उर्मिलाको खातामा ६ करोड ८२ लाख रुपैयाँ जम्मा भएको दाबी गरेको छ ।
त्यस्तै, शंकर होटलमा मोहन बस्नेतले गरेको पार्टीको रकम समेत राजु कँडेलले तिरिदिएका अख्तियारको आरोपत्रमा उल्लेख छ । पार्टी गरेबापत करिब २५ लाख रुपैयाँ भुक्तानी भएको थियो । अख्तियारले मोहन बस्नेत र उनकी पत्नीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस खाएको आरोप लगाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
त्यसरी गैरकानुनी रुपमा प्राप्त रकम लुकाएको, अन्यत्र लगानी गरेको र हस्तान्तरण समेत भएको भनी अख्तियारले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अर्को मुद्दा समेत दायर गरेको छ । अख्तियारले पद्मा कोलोनीका सञ्चालक राजु बस्नेत र उनको कम्पनीमाथि पनि ९ करोड २२ लाख रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ ।