Ad Image

कोइकाकाे ९० लाख अमेरिकी डलर सहयोगमा प्राविधिक शिक्षालय बन्ने

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735890193.jpg

कास्की । गण्डकी प्रदेशमा प्राविधिक शिक्षालय निर्माण गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले आर्थिक सहयोग गर्ने भएको छ ।

 

कोइका र गण्डकी सरकारबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखरामा सहयोग सम्झौता भएको छ । गण्डकीका सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र नेपालस्थित कोइकाका देशीय निर्देशक मुहेओन कङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कोइकाले उक्त परियोजनाअन्तर्गत ९० लाख अमेरिकी डलर सहयोग गर्ने छ ।

 

उक्त परियोजना सन् २०३० सम्म अर्थात् पाँच वर्ष चल्ने छ । सम्झौतामा हस्ताक्षरपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी इन्स्टिच्युट टेक्नोलोजीको पूर्वाधार विकास परियोजनाका लागि कोइकाले आर्थिक सहयोग गरेकामा खुसी व्यक्त गर्दै समयभित्र नै परियोजनाका काम सकिनेमा विश्वास व्यक्त गरेका छन् ।

 

मुख्यमन्त्री पाण्डेले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सहकार्यको प्रशंसा गर्दै उहाँले आयोजनाले नेपालको आर्थिक समृद्धिका लागि आवश्यक सीप र दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गरे । परियोजनाका लागि सरकारकोतर्फबाट पूर्ण रुपमा सहयोग रहने उनको प्रतिबद्धता छ ।

 

सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले परियोजना दक्ष जनशक्ति उत्पादन गर्न सञ्चालन गरिएको बताउँदै यस परियोजनाले निर्माण उद्योगको आवश्यकता पूरा गर्न र उनीहरूको रोजगारी बढाउन दक्ष जनशक्तिको विकास गरी नेपालको आर्थिक समृद्धिमा सहयोग पुर्याउने बताए ।

 

कोइकाले प्राविधिक संस्थान भवन निर्माण, अल्पकालीन तालिम, संस्थानको सञ्चालन योजना, करियर सेवा प्याकेज र उद्योगसँगको साझेदारी पहिचान गरी प्राविधिक संस्थानको गुरुयोजनाको विकासका लागि प्राविधिक मार्गदर्शन र सहयोग पनि प्रदान गर्ने छ ।

 

कोइकाका देशीय निर्देशक कङले परियोजनाले युवा, महिला र विपन्न वर्गका लागि गुणस्तरीय प्राविधिक शिक्षामा पहुँच पुग्ने विश्वास व्यक्त गर्दै आफूले नेपालको गण्डकी प्रदेशमा काम गर्न पाउँदा खुसी लागेको उल्लेख गरे ।