Ad Image

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रविमाथिको थुनछेक बहस सकियो

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736935737.jpg

काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेमाथिको थुनछेक बहस बुधबार सकिएको छ । बहस सकिएसँगै यसबारे आज नै आदेश आउने भएको हो ।


बुधबार रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए । उनीहरू दुवैले लामिछाने निर्दोष रहेको र तारेखमा मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने जिकिर गरेका थिए ।


दुई जनाको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको थियो । त्यस्तै, पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले जवाफी बहस गरेका थिए ।


बहसपछि अब लामिछानेलाई मुद्दा पुर्पक्षका लागि हिरासतमा पठाउने वा बाहिर बसेर नै मुद्दा पुर्पछको सुविधा दिनेबारे अदालतले आदेश दिनेछ ।


बुधबार थुनछेक बहसका लागि प्रहरीले लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएसँगै बहस सुरु भएको थियो । काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए ।


गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।