रास्वपाका कोशी प्रदेश सभापति राजेश तिम्सिना निलम्बित


काठमाडौं । पार्टीका निलम्बित महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउन पत्र लेखेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेश सभापति राजेश तिम्सिना निलम्बनमा परेका छन् । साथै प्रदेशमा सांगठनिक काममा ध्यान नदिएको कारण देखाउँदै रास्वपाले तिम्सिनलाई पार्टीबाट निलम्बन गरेको हो ।
गत १७ पुसमा पूर्व महामन्त्री ढकाललाई जिम्मेवारीमा फर्काउन माग गर्दै तिम्सिनासहित मधेश प्रदेशका सभापति तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका थिए ।
पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणी देवकोटाले नियमावली २०८० को परिच्छेद ४ को नियम ४.१ (ख), नियम ४.१.१. (ख) तथा नियम ६.२.३.(झ) का आधारमा उनलाई निलम्बन गरिएको जानकारी गराएका छन् । ढकाललाई निष्कासन गरिसकेपछि पार्टी अझै कमजोर भएको कोशीका सभापति तिम्सिनाले पत्रमा उल्लेख गरेका थिए ।
