पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई


म्याग्दी । एक लाख ५१ हजार पुरस्कार राशीको पालिकास्तरीय पुरूष भलिबलको उपाधि म्याग्दीको बेनी नगरपालिकाले जितेको छ । महिलातर्फ अन्नपूर्ण गाउँपालिका विजयी भएको छ ।
बेनीमा आज भएको फाइनलमा मालिका गाउँपालिकालाई एकका विरूद्ध तीन सेटले पछि पार्दै बेनी विजयी भएको हो । म्याग्दी उद्योग वाणिज्य सङ्घ, खेलकुद विकास समिति म्याग्दी र जिल्ला भलिबल सङ्घ म्याग्दीको आयोजनामा माघ ३ गतेदेखि प्रतियोगिता सुरू भएको थियो ।
बेनीले पहिलो, दोस्रो र चौथो सेट २५–१७, ३०–२८,२५–१६ र मालिकाले तेस्रो सेट २५–१६ को अन्तरमा जितेको थियो । खुला महिला भलिबलमा मङ्गला गाउँपालिका–२ को मालिका युवा क्लब सहश्रधारालाई एकका विरूद्ध तीन सेटले पराजित गर्दै अन्नपूर्ण विजयी भएको जिल्ला भलिबल सङ्घ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिए ।
पहिलो, तेस्रो र चौथो सेट २५–२२, २५–२० र २५–१६ को अन्तरमा जितेको अन्नपूर्ण दोस्रो सेटमा २५–२२ को अन्तरमा पराजित भएको थियो । पुरूषतर्फ विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रू एक लाख ५१ हजार एक सय र रू ७५ हजार एक सय प्राप्त गरेका छन् ।
सेमिफाइनलबाट बाहिरिएका टिमले रू २१ हजार एक सय पाएका छन् । महिला भलिबलको विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसहित रू ७५ हजार एक सय र रू ४० हजार एक सय पुुरस्कार पाएका प्रतियोगिता संयोजक तारानाथ रेग्मीले बताए । पुरूषतर्फ सात र महिलातर्फ छवटा टिमले सहभागिता जनाएका थिए ।
पुरूषतर्फ बेनीका सञ्जोक थापा र महिलातर्फ अन्नपूर्णकी सजिना बुढाथोकीले उत्कृष्ट खेलाडीको उपाधि पाए । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ, महासचिव नारायण जिसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीलगायतले पुरस्कार वितरण गरेका थिए ।
आठौँ म्याग्दी महोत्सवअन्तर्गत पुरूष, महिला भलिबल प्रतियोगिता र यु–२० वडास्तरीय पुरूष बास्केटबल प्रतियोगिता आयोजना गरिएको थियो । बास्केटबलमा बेनी नगरपालिका–१० पात्लेखेत विजेता र अन्नपूर्ण गाउँपालिका–१ दोवा उपविजेता भएका छन् । विजेता र उपविजेतालाई मेडल, ट्रफी र प्रमाणपत्रसहित क्रमशः रू ५५ हजार एक सय र रू ३१ हजार एक सय पुरस्कार प्राप्त गरेका छन् ।