कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चितवनको कालिका नगरपालिकामा स्थापना भएको नगर अस्पतालका लागि सरकारबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाएका छन् ।
चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आज मन्त्रालयमा गरेको भेटका क्रममा मन्त्री पौडेलले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा आफ्नो ध्यान रहेको र उक्त अस्पतालका लागि पनि आवश्यक सहयोग हुने आश्वासन दिएका हुन् ।
भेटका क्रममा नगरप्रमुख रेग्मीले भिडियो एक्सरेसहितका ल्याबका उपकरणहरू आवश्यक रहेकाले उपलब्ध गराउन माग गरेका थिए । उनले नगर अस्पतालको स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन पनि अनुरोध गरेका थिए । सो क्रममा मन्त्री पौडेलले केही उपकरण खरिदको प्रक्रियामा रहेको र खरिद भएपछि सहयोग गरिने आश्वासन दिएको पनि नगरप्रमुख रेग्मीले जानकारी दिए ।
नगरपालिकामा हाल १५ शय्याको अस्पताल सञ्चालनमा छ । नगर अस्पतालमा दैनिक तीन सयदेखि चार सयजना सेवाग्राहीले सेवा लिँदै आएका छन् । उक्त अस्तताल चेपाङ समुदायले सेवा लिने अस्पताल पनि हो ।