Ad Image

रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1736434077.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदैछन् । सहकारी ठगीमा पक्राउ परेका लामिछाने हिजो हाजिरी जमानीमा रिहा भए पनि आजबाट हुने थुनछेक बहसका लागि उपस्थित हुन लागेका हुन ।

 

हिजो रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले उनलाई बिहीवार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेको थियो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बुधबार रविको बयान सकिसकेको छ भने आजबाट कानून व्यवसायीहरूले थुनछेक बहसमा सहभागी हुनेछन् ।

 

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज अदालतमा उपस्थित हुँदैछन् । कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी जारी भएपछि यसअघि उनलाई कात्तिक २७ मा मा बुटवल लगेर बयान गराइएको थियो ।

 

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो ।

 

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनीमाथि उजुरी गरिएको हो ।

 

उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन । बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन ।