Ad Image

मेयरले कमिसनको लोभमा खुटी नहरलाई ढल बनाएको भन्दै लहानमा विशाल जनप्रदर्शन

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1737818923.png

लहान । लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले कमिसनको लोभमा खुटी नहरलाई ढल बनाएको भन्दै किसानहरुले विशाल जनप्रदर्शन गरेको छ । खुटी नहर संरक्षणका लागि  स्थानीयले संघर्ष समिति बनाएर लहान नगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन् । खुटी खोला सिंचाइ संघर्ष समितिले आज लहानमा विशाल जनप्रदर्शन गरेको हो ।

 

उनीहरुले दोस्रो चरणको आन्दोलनअन्तर्गत आज जनप्रदर्शन गरेका हुन् । लहान नगरपालिकाका मेयर र सिंचाइ डिभिजन कार्यालय सिरहा प्रमुखविरुद्ध पुतलासहित किसानहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनपछि उनीहरुले खुटी नहरमा किसान संघर्ष समितिको झन्डा गाडेका छन् । नहर आफूहरुले कब्जा गरेको किसानहरुले घोषणा गरेका छन् ।

 

आज प्रदर्शनकारीले पूर्वघोषित चक्काजाम कार्यक्रमलाई खुकुलो बनाएर सडकको दायाँबायाँबाट यातायात सञ्चालन गर्न दिएका छन् । किसानहरुले सडकको बिच भाग भने कब्जा गरेका छन् । चार महिनादेखि आन्दोलन गरे पनि आफूहरुको आन्दोलनलाई बेवास्ता गरेको भन्दै किसानहरुले मेयर चौधरीको पुतलालाई पटक पटक पिटेर आक्रोश पोखेका थिए । 

 

किसानहरुले पहिलो चरणअन्तर्गत धर्ना जुलुस, अन्तरक्रिया, विरोध प्रदर्शन, सार्वजनिक, सुनुवाइ कार्यक्रम गरेका थिए । त्यसैगरी दोस्रो चरणमा किसानहरुले गत आइबार साँझ मसाल जुलुस प्रदर्शन गरे । सोमबार शान्तिपूर्ण प्रदर्शन, मंगबार इलाका प्रशासन कार्यालय लहान र जिल्ला उद्योग वाणिज्य संघमा ध्यानाकर्षण पत्र बुझाए । बुधबार नगरपालिका घेराउ, शुक्रबार पुतला दहन र आज जनप्रदर्शन गरेका हुन् ।