Ad Image

अछाममा बाख्रा चराउन जंगल गएका २ किशोरी मृत फेला

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1737859653.jpg

काठमाडौं । अछाममा शुक्रबारदेखि बेपत्ता दुई किशोरी मृत फेला परेका छन् । ढकारी गाउँपालिका वडा नम्बर ८ का सरस्वती खड्का र ईश्वरी खड्का  सोही गाउँपालिकाको वडा नम्बर १ मा रहेको छिन्ने जंगलमा मृत अवस्थामा शनिबार बेलुका फेला परेको हो।

 

‘अलग–अलग स्थानमा किशोरीको शव फेला परेको अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए । शव शनिबार साँझ फेला परेको भए पनि रातको समयमा अनुसन्धान गर्न कठिन भएकाले आइतबार जिल्लाबाट टोली हिँडेको उनले बताए।

 

‘अन्दाजी १४/१५ वर्षका दुई किशोरी रहेको भन्ने बुझियो, मृत्युको कारण के हो भन्ने यकिन भएको छैन,’ उनले भने, ‘शवलाई सुरक्षित राख्ने काम मात्रै भएको छ, अनुसन्धान गर्न बाँकी छ।’

 

भण्डारीका अनुसार उनीहरू शुक्रबार दिउँसो बाख्रा चराउन छिन्ने जंगल गएका थिए। बेलुका बाख्रा–पाठा घर फर्किए तर किशोरी फर्किएनन्। शनिबार आफन्त तथा गाउँले किशोरीको खोजीमा निस्किँदा शव फेला पारेको भन्दै प्रहरीलाई खबर गरेका थिए ।