हमासलाई नेतन्याहुको चेतावनी– शनिबार बन्दी रिहा नगरे आक्रमण सुरु गर्छौ


काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी रिहा नगरे आक्रमण सुरु गर्ने चेतावनी दिएका छन्। मंगलबार नेतन्याहुले आक्रमणको चेतावनी दिएसँगै इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत देखिएको छ । यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै शनिबार गर्ने भनिएको बन्दीहरुको रिहा नगर्ने घोषणा गरेको थियो । त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने बताएका थिए ।
ट्रम्पपछि नेतन्याहुलेले पनि मंगलबार आक्रमणको चेतावनी दिएका हुन् । सन् २०२३ को अक्टुबर ७ देखि सुरु भएको इजरायल–हमास युद्धमा ४६ हजार जनाको ज्यान गएको छ । सन् २०२५ को जनवरी १५ मा युद्धविराम सम्झौता भएको थियो । सम्झौता कार्यान्वयन भने १९ जनवरीदेखि सुरु भएको थियो ।
यो सम्झौतासँगै एकअर्काले बन्दी बनाएकाहरुलाई मुक्त गर्ने क्रम चलिरहेको थियो । सोही अन्तर्गत शनिबार हमासले तीन इजरायली बन्दी रिहा गर्ने तयारी थियो । तर हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा समस्या खडा भएको छ ।
इजरायली प्रधानमन्त्री नेतन्याहुले आफूहरुबाट युद्धविराम उल्लंघन नभएको जिकिर गरेका छन् । उनले हमासले शनिबार बन्धकहरुलाई मुक्त नगरे पुनः आक्रमण सुरु गर्ने र हमासले पूर्णरुपमा हार स्वीकार नगरेसम्म आक्रमण जारी राख्ने बताएको बीबीसीले जनाएको छ ।
यस साता ढिलाइ हुनुको पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइसँग सम्बन्धित रहेको हमासले बताएको छ । हमासले ट्रम्पले गाजाबाट प्यालेस्टाइनीलाई अन्यत्र विस्थापित गर्ने योजनामा पूर्ण रूपमा असहमति जनाएको छ।