ट्रम्पलाई मस्को भ्रमण गर्न पुटिनको निम्तो छः क्रेमलिन प्रवक्ता


मस्को । रूसी राष्ट्रपति भ्लादिमर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मस्को भ्रमणको निम्तो दिएका छन्। आज ट्रम्प र पुटिनकाबीचमा करिब डेढ घण्टा कुराकानी भएको क्रेमलिनका प्रवक्ताले रूसको सरकारी स्वामित्वको तास समाचार एजेन्सीसँग कुराकानी गर्दै सो जानकारी दिएका हुन् ।
सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमणपछि पुटिन र अमेरिकी राष्ट्रपतिबीच भएको यो पहिलो प्रत्यक्ष सम्पर्क हो। सो क्रममा मध्य पूर्व, द्विपक्षीय सम्बन्ध, युक्रेन–वाशिटन–मस्कोबीच कैदी आदानप्रदान सबै छलफल भएको तासले उल्लेख गरेको छ ।
'रूसी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई मस्को भ्रमण गर्न निमन्त्रणा दिनुभयो र युक्रेनी समझौताको विषयसहित पारस्परिक हितका क्षेत्रहरूमा रसियामा अमेरिकी अधिकारीहरूलाई भेट्न आफ्नो तत्परता व्यक्त गर्नुभयो', क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने। पुटिन र ट्रम्पबीच आमनेसामने बैठकको व्यवस्थासहित व्यक्तिगत सम्पर्क जारी राख्न पनि सहमतसमेत भएका छन्, उनले भने ।