भक्तपुरमा नक्कली सुन देखाएर ठग्ने दुई जना पक्राउ


काठमाडौं । भक्तपुर जिल्लामा नक्कली सुन देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ घर भई हाल भक्तपुर ठिमी बोडे बस्ने ६२ वर्षीय धनजित तामाङ र बाह्रबिसे नगरपालिका–४ घर भई बोडे नै बस्ने ४८ वर्षीय दलबहादुर तामाङ रहेका छन्।
दुवैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार काठमाडौं कागेश्वर मनोहरा नगरपालिका–६ मूलपानीबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट एक किलो नक्कली सुन बरामद भएको प्रहरीले जनाएको छ ।
‘प्रहरीका अनुसार एक महिनादेखि सुन छ, बजार मूल्यभन्दा सस्तोमा दिन्छौं भन्दै पहेंलो धातु देखाएर सर्वसाधारणलाई ठगी गरेको भन्ने उजुरी परेको छ, ‘अहिलेसम्म के कति व्यक्तिलाई ठगी गरेको भन्ने विवरण संकलन भइरहेको छ।’ धनजित यसअघि ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसरबाट पक्राउ परेका व्यक्ति हुन्। उनीहरू दुबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।