Ad Image

प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740402974.jpg

काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरी कुट्ने नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थी नेताहरु धरौटी बुझाएर रिहा भएका छन् ।  काठमाडौं जिल्ला अदालतको आदेशपछि धरौटी बुझाएर पाँचै जना रिहा भएको प्रहरीले जनाएको छ । 

 

न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जना विद्यार्थी नेताहरुलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । पक्राउ परेका रमेश फुलारालाई १५ हजार तथा  कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई जनही १०/१० हजार धरौटीमा छाड्न आदेश दिएको हो । जोशी अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष हुन् ।

 

उनीहरुले प्रहरी वृत्त, दरबारमार्गमा केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि सांघातिक आक्रमण गरेका थिए ।अनेरास्ववियुका नेताहरुको सांघातिक आक्रमणमा परी घाइते भएका प्रहरी हवल्दार घर्तीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भएको थियो । घर्तीको टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेको थियो । त्यस्तै, जवान विष्टको आँखामा र शरीरका अन्य भागमा सामान्य चोट लागेको थियो ।