प्रदेशस्तरीय भलिबल प्रतियोगिता : हरिनास र पुतलीबजार नगरपालिका विजयी


दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा सञ्चालित गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा स्याङ्जाको हरिनास गाउँपालिका र पुतलीबजार नगरपालिका विजयी भएको छ ।
आज भएको खेलमा पुतलीबजार नगरपालिकाले तनहुँको शुक्लागण्डकी नगरपालिका (बी) लाई २–१ सेटमा हराएको छ । विजयीसँगै पुतलीबजार अघिल्लो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा स्याङ्जाको हरिनास गाउँपालिकाले तनहुँको भिमाद नगरपालिकालाई २–० को सोझो सेटमा पराजित गरेको खेल व्यवस्थापन समितिका संयोजक अमृत घिमिरेले जानकारी दिए । प्रतियोगिताअन्तर्गत मंगलबार तनहुँको ऋषिङ र म्याग्दे गाउँपालिकाबीच खेल हुनेछ ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद रु दुई लाख, द्वितीयले रु एक लाख, तृतीयले रु ५० हजार र सान्त्वना हुनेले रु २५ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा १३ समूहको सहभागिता रहेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, सटर, डिफेन्टर, ब्लकर, कोच र सर्भरलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव यही फागुन २० गतेसम्म सञ्चालन हुनेछ । ‘आर्थिक सामाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन, शुक्लागण्डकी महोत्सव कला सीप र संस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ जारी महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक एवं झाँकी प्रदर्शनी, तीनखोलेदेवी, ढोरवाराही मन्दिर दर्शन, रकगार्डेन, दगाम, भूजिकोट भ्यू टावर, भुमे भैरव मन्दिर तथा ऐतिहासिक स्थानथोक दरवार अवलोकन एवं मिलेनियम ट्रेक पदयात्रालाई निरन्तरता दिइएको छ ।
महोत्सवमा रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता समावेश गरिएको छ । महोत्सव अवधिभर दुई लाख दर्शकको सहभागिता र करिब रु पाँच करोड बराबरको कारोबार हुने महोत्सव संयोजक समुन्द्रराम श्रेष्ठले जानकारी दिए ।