Ad Image

आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740533812.jpg

काठमाडौं । नेपाली सेनाले आज २६२ औँ स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ ।

 

सेनाले दुई दशकअघिदेखि महाशिवरात्रीको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । राष्ट्रपति पौडेल नागरिकको आस्था र भरोसाको केन्द्रका रूपमा रहेको नेपाली सेनाको परमाधिपति हुन् ।

 

राष्ट्रको संस्कृति र परम्पराका रुपमा रहेको महाशिवरात्री तथा सेना दिवस सैनिक मञ्च टुँडिखेल तथा पृतना, गण, गुल्म, युनिट र विभिन्न निकायमा मनाइने नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए । ऐतिहासिक कालदेखि नै सेना राष्ट्रिय मूल्य, मान्यता, परम्परा र संस्कृतिबाट अभिप्रेरित रहँदै आएको संस्था रहेको उनले बताए ।

 

त्यस अवसरमा नेपाली सेनासहित भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाद्वारा साङ्गीतिक प्रस्तुति हुनेछ । स्थापना दिवस मनाउने सिलसिलामा पृतना समन्वयात्मक बैठक, प्रधानसेनापति खुल्ला म्याराथन, युनिटी जर्नल प्रकाशन र तस्बिर प्रदर्शनीसमेत भइसकेको छ ।

 

सेना दिवसकै अवसरमा विभिन्न देशका राष्ट्रिय सेवा दलसँग सम्बन्धित विदेशी छात्रछात्राबाट विभिन्न भेटघाट र नेपालबारे अध्ययन भ्रमण भइरहेको छ । सेना दिवस मूल समारोहमा भाग लिन भारतका केही पूर्व सेनाध्यक्ष नेपाल आएका छन् । उनीहरू नेपाली सेनाका मानार्थ महारथी समेत हुन् ।