अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र म्यानमार भिड्दै


काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदै छ । फाइनल खेलमा नेपाल र म्यानमार भिड्दै छन् । दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ६ बजेदेखि शुरु हुनेछ । चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानमार र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो ।
म्यानमारले लिग चरणका ३ खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेर शीर्ष स्थानमा रहेको थियो । म्यानमारले लेबनान र कीर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो । त्यस्तै नेपालको पनि ३ खेलमा २ जित र एक बराबरीसहित ७ अंक नै रहेको र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले पनि लेबनान र कीर्गिस्तानलाई पराजित गरेको थियो भने म्यानमारसँग बराबरी खेलेको थियो ।
फिफाको वरियतामा ५५ औं स्थानमा रहेको म्यानमारलाई सयौं स्थानमा रहेको नेपालले लिग चरणमा बराबरीमा रोकेका कारण फाइनल खेलका लागि उत्साहित रहेको छ । फाइनलअघि नेपाली महिला टिमका प्रशिक्षक राजेन्द्र तामाङ र कप्तान एन्जिला तुम्बापो सुब्बाले उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् ।