Ad Image

तासको विषयमा विवाद भएपछि साउथ इन्डियन फिल्म ‘मारको’को नक्कल गरेर साथीको हत्या

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740665237.jpg

पर्सा । वीरगञ्ज महानगरपालिका– २७ उदयपुर घुर्मीका १९ वर्षीय युवक इशालप्रसाद कुर्मीको हत्या ‘फिल्मी शैली’ मा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न व्यक्तिले कुर्मीको हत्याअघि ‘साउथ इन्डियन’ फिल्म हेरेको र त्यसैको नक्कल गरेको तथ्य फेला पारिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

 

कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् ।  वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मीकै १९ वर्षीय मुकेशप्रसाद यादव, सोही ठाउँका १९ वर्षीय अरुणकुमार यादव र १९ वर्षीय मुना तिवारीलाई पर्सा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

 

प्रहरी उपरीक्षक मिश्रका अनुसार कुर्मीको हत्याका ‘मुख्य योजनाकार’ मुकेश रहेको अनुसन्धानमा खुलेको छ। कुर्मीको शव गत फागुन ११ गते साँझ साढे ५ बजे वीरगञ्ज महानगरपालिका– २८ जगरनाथपुर ढाटभन्दा करिब ५ सय मिटर पश्चिम भेडैया खोलामा फेला परेको थियो। खोलामा तैरिरहेको अवस्थामा शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो ।

 

कुर्मीको हत्या फागुन ७ गते प्रजातन्त्र दिवसको दिन साँझ ६ः१० बजे भएको अनुसन्धानबाट खुलेको मिश्रले पत्रकार सम्मेलनमा बताए । मिश्रका अनुसार कुर्मी सोही दिन वीरगञ्ज काम गर्न जान्छु भन्दै घरबाट निस्किए। तर, भोलिपल्टसम्म नफर्किएपछि कुर्मीका बुवाले प्रहरीमा निवेदन दिएका थिए।

 

‘कुर्मीका बुवाले निवेदन दिएपछि हामीले घटनाको अनुसन्धान थालेका थियौं, खोलामा शव फेला परेपछि अनुसन्धान गर्दा हत्या गरेको पत्ता लागेको थियो,’ मिश्रले भने।अनुसन्धान अधिकृतका अनुसार हत्या गरिएका कुर्मी र पक्राउ परेका तीनै जना साथी हुन् । उनीहरूमध्ये कुर्मी र मुकेश आपसी सहमतिमा सापटी रकम लेनदेनसम्म गर्थे । मुकेशले कुर्मीसँग पटक–पटक गरेर सापटी लिएको ३५ सय रुपैयाँ फिर्ता गर्न बाँकी थियो ।

 

अनुसन्धान अनुसार हत्या गरिएका कुर्मी र पक्राउ परेका तीन जना युवक फागुन ७ गते भेला भएपछि तास खेल्न खुल्ला ठाउँमा गएका थिए । तास खेल्ने क्रममा मुकेश र हत्या गरिएका कुर्मीले हारे ।

 

हारेपछि कुर्मीले आफूले विगतमा दिएको त्यो ३५ सय रुपैयाँ मुकेशसँग माग्न थाले । ‘तास खेलेका अरू दुई जनाले जितेका थिए, मुकेश र कुर्मीले मात्रै हारेका थिए, आफूले हारेपछि कुर्मीले मुकेशसँग विगतमा दिएको सापटी रकम माग्न थाले,’ प्रहरी उपरीक्षक मिश्रले भने।

 

मिश्रका अनुसार सापटी रकमको विषयमा वादविवाद हुन थालेपछि चारै जना तासको खालबाट उठे। उनीहरूले त्यसबेला सामूहिक निर्णय गरे । अब नजिकैको उखुबारीमा जाऔं, उखु चोरेर खाऔं ।

 

चारै जना उखुबारी पुगे। उखु चोरेर खाउन्जेलसम्म अप्रिय घटना भएको थिएन। जब, चारै जना फर्किए, फर्किने क्रममा बाटोमा मुकेशले आफूले अघिल्लो दिन (फागुन ६ गते) हेरेको साउथ इन्डियन फिल्म ‘मारको’मा भिलेनले मान्छे मारेको सम्झिए ।

 

‘त्यो फिल्ममा भिलेनले मानिसलाई रुखमा टाउको ठोक्काएर मारेको दृश्य मैले सम्झिएँ,’ मुकेशको बयान उदृत गर्दै प्रहरी उपरीक्षक मिश्रले भने, ‘सापटी चलाएको रकमको विषयमा वादविवाद गरेको घटनाबाट मलाई रिस उठिरहेको थियो, मैले कुर्मीको टाउको रुखमा ठोक्काइदिएँ।’

 

त्यसपछि मुकेशले रुखमा टाउको ठोक्काएपछि बेहोस् भएका कुर्मीको दुबै हात सर्टले बाँधिदिए । ‘मुकेशले बेहोस् अवस्थामा रहेका कुर्मीलाई घिस्याएर खोलामा लगेर फाल्दिए,’ मिश्रले भने, ‘बेहोस् अवस्थामा फालिएका कुर्मीको खोलामा मृत्यु भएको अनुसन्धानमा देखिन्छ।’

 

कुर्मीलाई खोलामा फाल्दा मुकेशसँगै पक्राउ परेका अन्य दुई जनाले सहयोग गरेका थिए। ‘तर, उनीहरूले के–कति सहयोग गरे भन्ने विषयमा भने अनुसन्धान भइरहेको छ,’ मिश्रले भने।  पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यानमुद्दामा अदालतबाट ६ दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान थालिएको मिश्रले बताए ।