रामप्रताप क्याम्पसको पञ्चवर्षीय कार्ययोजना निर्माण गोष्ठी शिक्षकहरुले गरे बहिष्कार


मुकेश कुमार यादव, सिरहा । सिरहाको रामप्रताप रामप्रसाद जनता बहुमुखी क्याम्पसका प्रमुख किशोरकुमार साहले गोप्य रुपमा पञ्चवर्षीय कार्ययोजना निर्माण गोष्ठी गरेको भन्दै क्याम्पसका अन्य शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । क्याम्पसको ‘पञ्च वर्षीय कार्ययोजना निर्माण गोष्ठी’ जस्तो महत्वपूर्ण विषय क्याम्पसका शिक्षक र समितिलाई जानकारी नगराइ आज महोत्तरीको बर्दिबासमा गोप्य रुपमा गरेको भन्दै उनीहरुले कार्यक्रम बहिष्कार गरेका छन् ।
क्याम्पस प्रमुख साहले औपचारिकता पुरा गर्न मात्र आइतबार मौखिक रुपमा जानकारी गराएको तर के कार्यक्रम हो भन्नेबारे केही नबताएको उनीहरुको आरोप छ । सहायक क्याम्पस प्रमुख श्यामकुमार सिंहका अनुसार क्याम्पस प्रमुख साहले विषय नै जानकारी नगराइ हिजो (आइतबार) जनकपुर जाऔँ भनेका थिए । तर आज हिँड्ने बेलामा बर्दिबास जानु पर्छ भने। उनले भने, ‘मलाई हिजो मौखिक रुपमा जनकपुर जाऔँ भन्नु भयो। आज बिहान बर्दिबास जाऔँ भन्नु भयो। मैले जानकारी नै नभएको विषयमा म जान्न भने। म गइँन।’
यस्तै क्याम्पस सञ्चालक समितिका सदस्य रामचन्द्र महतोले आफूलाई हिजो २ बजेमात्र बर्दिबासमा बैठक छ भनेर फोनमा जानकारी गराएको बताए । सो क्रममा उनले क्याम्पसको बैठक क्याम्पसभन्दा बाहिर किन राख्नुपर्यो भनेर प्रश्न गरेको र आफू क्याम्पसमा हो भने आउने तर बर्दिबास नजाने बताएका थिए । ‘म बर्दिबासमा छ भन्ने बित्तिकै जान्न भनिदिएँ । उनले भने, गरिब विद्यार्थीबाट असुलेको रकम हिनामिना गर्ने खेलको साक्षी किनारमा मलाई बस्नु छैन। म त्यसैले बर्दिबास गइँन ।’
‘
राजनीतिक आडमा क्याम्पस प्रमुख साहले ठूलो रकम हिनामिना गरेको र त्यसबारे अझै छानविन हुन नसकेको आरोप छ । क्याम्पस प्रमुख कै नैतिकतामाथि प्रश्न उठिरहेको सन्दर्भमा ‘क्याम्पसमा बसेर यी समस्या समाधान गर्नुको साटो गरिब विद्यार्थीबाट असुलेको रकम उडाउन, हिनामिना गरेको रकम मिलान गर्न सञ्चालक समितिलाई फकाउने प्रपञ्चमात्र हो, महतोले भने, तपाईंहरूले भनेपछि मात्र मैले जानकारी पाएको हो आजको पञ्चवर्षीय योजना तर्जुमा बैठक।’
क्याम्पस सञ्चालक समितिका अर्का सदस्य विजयकुमार साहले पनि बर्दिबासमा हुने बैठकमा आफूले उपस्थित नहुने जानकारी गराई सकेको बताए। उनले भने, ‘बर्दिवासमा बैठक छ भनेर मलाई क्याम्पस प्रमुखले जानकारी गराउने बित्तिकै मैले म बर्दिबासमा हुने बाँडफाँडको बैठकमा जाँदिन भनिदिएको छु। म बैठकमा उपस्थित छैन।’
क्याम्पसका शिक्षक मनोजकुमार साहलाई आज क्याम्पसको बर्दिबासमा के(को बैठक रहेछ रु भनी सोध्दा उनले स्ववियु निर्वाचनको विषयमा छलफल गर्न गएको भन्ने मैले जानकारी पाएको बताए । क्याम्पस प्रमुख साहका निकटतम मानिने क्याम्पस प्राध्यापक संघका अध्यक्ष प्रदीपकुमार साहले भने ‘पञ्चवर्षीय योजना निर्माणको कार्यक्रम रहेको सुनेको बताए ।
उनले भने, ‘मलाई पनि सबै जानकारी छैन। तर, मैले पञ्चवर्षीय योजना निर्माणको बैठक हो भन्ने सुनेको छु। समिति, शिक्षक, अभिभावक, विद्यार्थीहरू उपस्थित हुने कार्यक्रम छ।’ यसबारे क्याम्पस प्रमुख साहले भने कार्यक्रमबारे सबैलाई जानकारी दिएको दावी गरे। उनले अन्य अतिथि, क्याम्पसका प्रमुख प्रतिनिधिहरु पनि उपस्थित हुने भएकाले बर्दिबासमा कार्यक्रमको आयोजना गरेको बताए । क्याम्पस प्रमुख साह एमाले निकट प्राध्यापक संगठनमा आबद्ध छन्। उनले सबै कार्य राजनीतिक आडमा गरिरहेको आरोप छ ।