अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकालाई


दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सम्पन्न प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ । चौथो शुक्लागण्डकी महोत्सवका अवसरमा सञ्चालित प्रतियोगिताको आज भएको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिकाको टोलीलाई हराउँदै बौदीकालीले उपाधि जितेको हो । बौदीकालीले शुक्लागण्डकीलाई ३–२ सेटले पराजित गरेको हो ।
यस्तै, स्याङ्जाको पुतलीबजार नगरपालिका तेस्रो भएको छ । पुतलीबजारले स्याङ्जाको हरिनास गाउँपालिकालाई पराजित गरेको खेल व्यवस्थापन समितिका संयोजक अमृत घिमिरेले जानकारी दिनुभयो ।
उपाधिसँगै विजेता बौदीकालीको टोलीले नगद रू दुई लाख प्राप्त गरेको छ । उपविजेता शुक्लागण्डकीले रू एक लाख, तृतीय भएको पुतलीबजारले रू ५० हजार र चौथो भएको हरिनास गाउँपालिकाले रू २५ हजार प्राप्त गरेको छ ।