सडकका भित्ता रंगरोगन गरी चिटिक्क बनाउँदै हेटौंडा उपमहानगर


हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले स्थानीय संस्कृति र पहिचान झल्कने गरी बजार क्षेत्रमा खाली रहेका पर्खाल तथा सडकका भित्ताहरुमा रंगरोगन गरी आकर्षक चित्र बनाउने काम सुरु गरेको छ । सुन्दर हरित नगरको पहिचान बनाएको हेटौंडा उपमहानगरपालिकाले शहरलाई पर्यटकीय गन्तव्यको रुपमा बनाउन सडक वरिपरी खाली रहेका भित्ताहरुमा रंगरोगनको काम सुरु गरेको हो ।
चालु आर्थिक वर्षको बजेटबाट काम हुने गरी उपमहानगरपालिकाले पुर्वपश्चिम राजमार्गको हेटोैंडा–१० सडक छेउमा रहेको नेपाल ट्रष्ट इकाई कार्यालय हेटौंडाको कान्ति इश्वरी घरको पर्खालमा चित्रकला पेन्टको काम थालेको हो । ‘सफा हेटौंडा अभियान’ अन्तर्गत अहिले बजार क्षेत्रमा रहेका खाली पर्खाललाई रंगरोगन गर्दै नगरका पहिचानलाई चित्र मार्फत देखाउने कामको थालनी गरिएको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् ।

उनले नगरका अन्य खाली रहेका पर्खालहरूमा पनि नगरको संस्कृति र पहिचान झल्कने गरी चित्र निर्माण गर्दै अघि बढ्ने बताइन् । विकास निर्माणमा पूर्वाधारतर्फ मात्र ध्यान नदिइ नगरको सौन्दर्यतामा पनि ध्यान दिँदै कार्यक्रमहरूलाई अघि बढाइने लामाले बताइन् ।उपमहानगरले पहिलो चरणमा ट्रष्टको खाली रहेको १७ सय स्क्वायर क्षेत्रमा हेटौंडाको पर्यटकीय तथा धार्मिक गन्तव्यको पहिचान दिलाउने विभिन्न प्रकारका १५ वटा चित्र पेन्ट गर्ने कामलाई अघि बढाएको छ ।
उपमहानगरको खरिद समितिमार्फत नगरका विभिन्न वडामा रहेका गन्तव्यलाई चित्र मार्फत पर्खालमा उतार्नका लागि ४ लाख ६८ हजार ३५३ रुपैयाँ बजेटमा कामलाई अघि बढाएको जनाएको छ । सोमबार राजमार्गक्षेत्रको खाली पर्खालमा भइरहेको रंगरोगन कार्यको नगर प्रमुख लामाले अवलोकन गरेकी थिइन् । सो क्रममा उनले अहिले काम भइरहेको ठाउँ बाहेकका अन्य खाली रहने पर्खालहरूमा पनि विस्तारै रंगरोगनसहित चित्रकलाको कामलाई निरन्तरता दिने बताइन् ।

बजार क्षेत्रलाई सफा र सुन्दर राख्ने, उज्यालो शहर बनाउन लाईटिड्डको व्यवस्था गर्दै अघि बढिरहेको महानगरले यसअघि नगरका सडक किनारामा वृक्षारोपण गरेको थियो । यस्तै खाली रहेका जमिनहरूमा पार्कको निर्माण, मुख्य बजार क्षेत्रसहित अन्य वडाहरुमा लाईटिड्डको व्यवस्थापन, सडक किनारामा रहेको कर्बस्टोनमा पेन्टिड्डका काम गरिरहेको नगर प्रमुख लामाले बताइन् ।