एसईईकाे केन्द्राध्यक्ष चयनमा मधेश सरकार असन्तुष्ट, परीक्षा प्रक्रियामा सहभागी नहुने


काठमाडौँ । आउँदाे ७ चैतबाट सुरु हुने एसईई परीक्षा प्रक्रियामा मधेस प्रदेश सरकार सामेल नहुने भएको छ । पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहले केन्द्राध्यक्ष चयनमा पारदर्शिता नभएकाे भन्दै एसईई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने घोषणा गरेका छन् ।
मुख्यमन्त्री सिंहले गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्नुपर्ने माग राखेका थिए । तर केद्राध्यक्ष चयनमा गाेलाप्रथा नअपनाइएपछि मधेश प्रदेश यो प्रक्रियाबाट बाहिर बस्ने निर्णयमा पुगेको सिंहले बताएका हुन् ।
प्रदेश सरकार र संघ सरकारको निर्देशनलाई चुनौती दिनेगरी केन्द्राध्यक्ष चयन गरिएकोमा उनको आपत्ति छ । उनले संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य, समन्वय र सहअस्तित्व भविष्यमा सुदृढ हुने अपेक्षा गर्दै यसपटकको एसइई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने जानकारी गराए ।
मुख्यमन्त्री सिंहले आठै जिल्लाका एसईई परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको भेला बोलाएर गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्न निर्देशन दिएका थिए । तर, निर्देशन विपरित केन्द्राध्यक्ष छानिएपछि सिंहले एसईईमा सहभागी नहुने बताएका हुन् ।