चन्द्रागिरि हिल्सलाई थाहा नगरपालिकाले भन्योः पैदलयात्रीबाट अवैध असुली तत्काल रोक्नु


हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–९ वडा कार्यालयले चित्लाङ भन्ज्याङ हुँदै भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गमा चेकपोइन्ट राखेर सर्वसाधारणसँग अनधिकृत रूपमा रकम लिने कार्य तत्काल रोक्न चन्द्रागिरि हिल्स प्रालिलाई निर्देशन दिएको छ ।
चन्द्रागिरि हिल्सले मन्दिरसम्म पुग्न प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क असुली गर्दै आएको थियो । वडा कार्यालयले सोमबार पत्राचार गर्दै तत्काल उक्त कार्य रोक्न निर्देशन दिएको हो ।
भालेश्वर मन्दिरसम्म जाने पैदलमार्ग अन्तर्गत चन्द्रागिरि हिल्सले चेकपोइन्ट राखेर उक्त मन्दिरसम्म पुग्न प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क लिइरहेको भनी जनगुनासो प्राप्त भएको वडाध्यक्ष राजकुमार बलामीले बताए । उनले पैदलमार्ग हुँदै भालेश्वर मन्दिरसम्म जाने कुनै पनि पैदलयात्रीलाई आवतजावतमा रोकावट नगर्नसमेत लिखित निर्देशन दिएका छन् । निर्देशनमा यात्रीलाई आवतजावतमा रोकावट नगर्न र चेकपोइन्टमा राखिएका सामग्रीसमेत सात दिनभित्र हटाइदिन भनिएको छ ।
