Ad Image

पर्यटन विकासका लागि हवाई सेवालाई विस्तृत र सबल बनाउन आवश्यक छः प्रधानमन्त्री

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742467228.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पर्यटन विकासका लागि हवाई सेवालाई विस्तृत र सबल बनाउन आवश्यक रहेको बताएका छन् ।


प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले मुलुकको हवाई सेवालाई चुस्त र प्रभावकारी बनाउन सरकारले आवश्यक काम गरिरहेको बताएका हुन् ।


प्रधानमन्त्री ओलीले नेपालमा हवाई यातायातको विकासका लागि सरकारी क्षेत्रबाट सञ्चालिन नेपाल वायुसेवा निगमको व्यवस्थापनमा कुशलता बढाउन आवश्यक व्यावसायिक कार्ययोजना निर्माण गरी सुधारका काम अघि बढाइएको बताए । उनले पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डको पुर्नसंरचना गरी विदेशस्थित नेपाली दूतावास, नियोग, पर्यटन दूत, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), विदेशमा बस्ने नेपाली विद्यार्थी, नेपाल र विदेशका विभिन्न संघ संस्थालाई परिचालन गरिएको जानकारी दिए ।


“मित्रराष्ट्रहरूबाट भित्रिने पर्यटकको सङ्ख्या वृद्धि गर्न नेपाल पर्यटन बोर्डलगायत अन्य क्षेत्रबाट प्रवर्द्धनात्मक काम भइरहेका छन् । पर्यटनसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्को यसै अधिवेशनमा पेस गर्नेगरी तयारी गरिरहेको छ । पर्वतारोहण नियमावली संशोधन भइसकेको छ”, प्रधानमन्त्री ओलीले भने ।


एक अर्को प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सुनसरी र मोरङको करिब ६८ हजार हेक्टर कृषियोग्य भूमिमा दिगो र भरपर्दो सिँचाइ सेवा पुर्याउने उद्देश्यले सुरु भएको सुनसरी मोरङ सिँचाइ आयोजनाले कोशी नदीको चतरा नजिक बायाँ किनारमा ‘साइड इन्टेक’ निर्माण गरी सिँचाइ सेवा उपलब्ध गराइरहेको जानकारी दिए । उनका अनुसार विगत केही वर्षदेखि कोशी नदीले धार परिवर्तन गरी ‘साइड इन्टेक’ रहेको स्थानको दायाँतर्फ मुलबहाब आएकाले हिउँदको समयमा बायाँतर्फ रहेको ‘साइड इन्टेक’ मा आवश्यक मात्रामा पानीको प्रवेश गराउन सकिएको छैन । आयोजनाले प्रत्येक हिउँदमा अस्थायी बाँध बाँधी यथाससम्भव पानी इन्टेकमा प्रवेश गराई सिँचाइ सुविधा पुर्‍याउँदै आएको छ ।


प्रधानमन्त्री ओलीले स्थायी प्रकृतिको संरचना निर्माण गरी दिगो तवरले वर्षैभरी पानी सञ्चालन कसरी गर्न सकिन्छ भनि विभिन्न विकल्पमा अध्ययन गरिएको भन्दै प्राविधिक र आर्थिक रूपले सम्भाव्य विकल्प छनौट गरी कार्य अगाडि बढाइने विश्वास व्यक्त गरे । साथै, उक्त आयोजनाअन्तर्गतका सिंचित क्षेत्र बचावटसम्बन्धी कार्यहरू पनि प्राथमिकताका आधारमा कार्यान्वयन भइरहेका उनले उल्लेख गरे ।